सिन्धुपाल्चोकमा बाढीपहिरो : मृत्यु हुनेको संख्या नौ पुग्यो, चार बेपत्ता, लार्चा र लिपिङ पुल बगायो
चौतारा–बाढीपहिरोले सिन्धुपाल्चोका ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । चार जना अझै बेपत्ता छन् ।
शनिबार दिउँशो दुई बजेतिर लिसंखुपाखर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा थप तीन स्थानीयको ज्यान गएपछि मृतक बढेका हुन् । स्थानीय तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तानसहित उनको एक छोरा र एक छोरीसमेत तीनको ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि विभिन्न तीन पहिरोको घटनामा ६ जनको ज्यान गएको थियो । लिसंखुपाखर गाउँपालिका–३ बाफलस्थित काजीबहादुर तामाङको घर पहिरोले पुर्दा उनीसहित दुई जनाले ज्यान गुमाएका छन् ।७३ वर्षीय काजीबहादुर र उनकी श्रीमती सुन्तली तामाङ पुरिएको अवस्थामा मृत भेटिएका हुन् । काजीबहादुर पूर्ववडाध्यक्ष हुन् ।
त्यस्तै सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धुबिच रिसोर्ट पहिरोले पुर्दा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ पुरिएर दुई जना बेपत्ता भएको डिएसपी निरञ्जन भट्टराईले जनाए । उनकाअनुसार मृतक दुबै पुरुष हुन् । पुरिएको अवस्थामा मृत भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन । रिसोर्टबाट अरु १५ पाहुनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याएको छ ।
जुगल गाँपालिका–१ मा पहरोले स्थानीय चित्रबहादुर मिजारको घर पुर्दा उनीसहित एक पहुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चित्रबहादुर र उनका ज्वाई अविनाश नेपाली मृत फेला परहेका हुन् । बालकसहित दुई पहिरोले पुरेर भत्किएको घरमा बेपत्ता छन् । प्रहरीका अनुसार चित्रबहादुरकी श्रीमती र उनका पाँच वर्षीय भाञ्जा पुरिएर बेपत्ता छन् । बेपत्ता सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भोटेकोसी नदीमा आएको बाढीले सीमा नाका तातोपानी जोड्ने लार्चा बेलिब्रिज बगाएको छ । यो पुल बगेपछि तातोपानीसँगको सडक सम्पर्क टुटेको छ । केही वर्षअघि चट्टाने पहिरो खस्दा लार्चाको पक्की मोटरेवल क्षतिग्रस्त बनेको थियो । सोही स्थानमा बेलिब्रिज राखिएको थियो । लिपिङ खोला पुल पनि बाढीले क्षतिग्रस्त बनाएको छ । तातोपानी १० किलोस्थित फलामे पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ ।
जिल्लामा बिहीबार दिउँशोदेखि निरन्तर वर्षा भइरहेको छ । पहिरो र नदी कटानले अरनिको राजमार्गसहित मुख्य, सहायक राजमार्ग र अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
प्रतिक्रिया