Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चिनियाँ सहयोगमा अत्याधुनिक चौतारा अस्पताल तयार
 चिनियाँ सहयोगमा अत्याधुनिक चौतारा अस्पताल तयार
समाचार समाज स्वास्थ्य​

चिनियाँ सहयोगमा अत्याधुनिक चौतारा अस्पताल तयार

by वरकाेबाेट संवाददाता March 28, 2024

चाैतारा-जिल्ला सदरमुकाम चौतारामा रातो रंगको ठूलो भवन हालसालै ठडिएको छ। यो भवन मित्रराष्ट्र चीनको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको चौतारा अस्पताल हो।

१८ महिना अवधिमा सम्पन्न भएको ३९ शय्याको सुविधासम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्ण रूपमा तयार भएको छ। निर्माणकर्ता चिनियाँ टिम भवन हस्तान्तरण गर्न नेपाल सरकारसँग संवादमा छन्।

अस्पताल भवन निर्माणका लागि १५ अगस्ट २०१८ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो।

विनाशकारी भूकम्पले लडाएको अस्पताल पुनर्निर्माण गर्न चीन सरकारले ६ करोड १० लाख आरएमबी अनुदान सहयोग गरेको हो। ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिना अर्थात् ८ मार्च २०२४ मा निर्माण सम्पन्न भएको प्रोजेक्ट प्रमुख वरिष्ठ इन्जिनियर मिस्टर गुओ बाओचेङले जानकारी दिए।‘हामीले समयसीमाभित्र निर्माण सकेका छौँ,’ उनले भने, ‘अब नेपाल सरकारलाई हस्तान्तरण गरेर चीन फर्कन्छौँ।’

चाइना चियुयान इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले भवन तयार पारेको हो। अस्पताल निर्माणमा दैनिक २५ चिनियाँ र एक सय नेपाली कामदार खटेका थिए। निर्माण सम्पन्नपछि २० चिनियाँ र सबै नेपाली कामदार घर फर्केका छन्।

यस्ता छन् सुविधा

तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ।

भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन्।

भुइँतलामै भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन्। भुइँतलामै चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण जडान गरिएका छन्।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शय्याको अन्तरंग विभाग, साे क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन्।

दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ। फर्निचर, मेसिन, दराज सबै चीनबाट ल्याइएको हो। नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहनेछ। उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउनेछन्। भूकम्पपछि ध्वस्त भएको चौतारा अस्पतालले करिब पाँच वर्ष टेन्टमा रहेर बिरामीको उपचार गरेको थियो। चिनियाँ सहयोगले यो अस्पताल अत्याधुनिक बनेको छ ।

नयाँ पत्रिकाबाट

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.