इन्द्रावती नदी थुनिएको छैन तर सावधानी भने अपनाऔँ–स्थानीय प्रशासन
मेलम्ची–इन्द्रावती नदी नथुनिएको स्पष्ट पार्दै स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन तर आतंकित नबन्न आग्रह गरेको छ ।
जिल्लाको पश्चिमी पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा सुख्खा पहिरो खसे पनि अहिलेसम्म नदी नथुनिएको सिन्धुपाल्चोक प्रहरीले स्पष्ट पारेको छ । आइतबार दिउँसोदेखि तिपेनीबाट इन्द्रावती नदी किनारमा सुख्खा पहिरो झर्न थालेको थियो ।
इन्द्रावती नदी थुनिएको हल्लापछि तटीय क्षेत्रमा त्रास फैलिएको छ । ‘अहिलेसम्म इन्द्रावती थुनिएको छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘स्थानीयलाई त्रासमा पार्ने काम कसैले गर्नु भएन ।’ अहिले सुख्खा पहिरो झर्न रोकिएको र नदी प्रवाह भइरहेको उनले जानकारी दिए ।
‘सावधानी भने अपनाउनु पर्छ । आतंकित भइहाल्ने अवस्था अहिले छैन,’ स्थानीयलाई आग्रह गर्दै एसपी खड्काले भने । सुख्खा पहिरो खसेको क्षेत्रमा दिउँसोदेखि वर्षा पनि नभएको प्रहरीले जनाएको छ । झण्डै ५० मिटरमाथिबाट खसेको पहिरोको गेग्रान इन्द्रावती किनारमा थुप्रिएको छ, साथै नदी बहाव धारमा पुगेको गेग्रान बगाइसमेत रहेको छ ।
वर्षासमेत थपिएर पहिरो खसिरहे मात्र नदी थुनिन सक्नेमा सुरक्षा निकायले उच्च सतर्कतासहित सम्भावित जोखिम निम्तिन नदिन आवश्य तयारी गरिरहेको एसपी खड्काले जानकारी दिए । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नदी थुनिएमा बिस्फोट गराएर खुलाउने बिकल्पसहित अत्यावश्यक मेसिनरी सामाग्रीसहित पहिरो क्षेत्रमा तैनाथी छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले साँझ जारी गरेको प्रेस विज्ञप्तीमा पनि नदी नथुनिएको स्पष्ट पारेको छ । प्रशासनले पाँचपोखरी हुँदै मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत भएर बस्न भने अनुरोध गरेको छ ।

नागिरकन्युजबाट
प्रतिक्रिया