सिन्धुपाल्चोक । राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको चर्चित जुगल हिमश्रृंखलामा अर्को सफल आरोहण भएको छ ।
जिल्लाको जुगल गाउँपालिकामा पर्ने उक्त हिमश्रृंखलाको ६ हजार ५ सय १८ मिटर उचाइको जुगल २ हिमालको पहिलो पटक सफल आरोहण भएको हो ।



स्पेनका तीन सदस्यीय पर्वतारोहीको टोलीले यही कात्तिक ९ गते जुगल २ सफल आरोहण सम्पन्न गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्यांवोले जानकारी दिए ।
जुगल हिमश्रृंखलाका हिमालहरुमध्ये जुगल २ को आरोहण अत्येन्त कठिन मानिन्छ । कठिन हिमालको सफलतापूर्वक आरोहण गरेकोमा अध्यक्ष स्यांवोले आरोहीहरुलाई बधाई दिँदै उनीहरु इतिहास रच्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
‘चुनौतीपूर्ण मानिएको यो शिखरमा पहिलो पाइला टेक्न सफल सम्पूर्ण स्पेनिस आरोही टोली तथा यो अभियानसँग जोडिनु भएका सम्पूर्णमा हार्दिक बधाई,’ सफल आरोहणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस ऐतिहासिक सफलताले नेपालको हिमाली पर्यटन र विशेष गरी जुगल हिमशृङ्खलाको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा अझ उच्च बनाएको छ। आगामी दिनमा पनि यस्तै साहसिक आरोहणहरूको अपेक्षा गर्दछौं।’
आरोहण टोलीले केही दिनअघि मात्र आरोहण यात्रा प्रारम्भ गरेको थियो । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले जुगल भ्रमण वर्ष २०८३ मनाइरहेको छ । यो आरोहणले भ्रमण वर्ष सफल हुने दिशातर्फ अघि बढेको अध्यक्ष स्यांवो बताउँछन् ।
आरोहण खुलासँगै पछिल्ला केही वर्षयता यो श्रृंखलाका विभिन्न हिमालको सफल आरोहण भइसकेको छ ।












