काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बर्षाले प्रभावित भएर लामो बिवादपछि बल्ल सुरु भएको खेलमा सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गर्दै विराटनगर किंग्सले शानदार जित दर्ता गरेको छ ।
तीन खेलमा पहिलो जित निकाल्दै विराटनगरले २ अंक खातामा जोडेको छ । विराटनगरको जितमा आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा १ विकेट र फिल्डिङमा १ क्याच लिएका थिए ।



१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । ओपनर सैफ जैबले १० बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाए । यस्तै आरिफ शेखले पनि अविजित १७ रन बनाए ।
बलिङमा विराटनगरका लागि २ ओभर बलिङ गरेका आन्द्रे रसेलले जम्मा ८ रन मात्र दिएर १ विकेट लिए । यस्तै एन्जेलो म्याथुजले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
पहिलो बलमा विराटनगरका आन्द्रे रसेलले ओपनर शेरफान रुथरफोर्डलाई आउट गर्दै टिमलाई सफलता दिलाएका थिए । वान डाउनमा आएका कप्तान दीपेन्द्र सिंह ऐरि पनि दोस्रो ओभरमा आउट भएपछि सुदूरले ७ रनमै २ विकेट गुमायो । ओपनर सैफ जैबले एक छेउबाट प्रायस गरेपनि पर्याप्त भएन ।
त्यसअघि कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर शेहान जयासूर्याले ११ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । वान डाउनमा ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का मदतमा अविजित २९ रन बनाए ।
यस्तै अन्तिम बलमा आउट भएका अर्का ओपनर लोकेश बमले १० बल खेल्दै १ चौका र ३ छक्का मदतमा २५ रन जोडे ।
सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए ।
५ ओभरको खेलमा विराटनगरका लागि लोकेश बमसँगै शेहान जयासुर्या ओपनिङमा आए भने सुदूरपश्चिमका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन स्पीनर थरिन्दु रत्नायाके पहिलो खेल्दै पहिलो ओभर बलिङ गरे ।
पहिलो ओभरमै जयासुर्याले रत्नायाकेलाई ५ छक्का प्रहार गर्दा विराटनगरले पहिलो ओभरमा ३५ रन जोड्यो ।
जयासुर्या र लोकेश बमले दुवै छेउबाट विष्फोटक ब्याटिङ गर्दा विराटनगरले ८ बलमै अर्धशतक पूरा गर्दै आक्रमक सुरुवात गरेको थियो ।
शेहान जयासुर्याले तेस्रो ओभरमा आउट हुनुअघि ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ३९ रन बनाएका थिए । अभिनाश बोहराको बलमा एलबीडब्लु भएका थिए । अम्पायरले सुरुमा आउट नदिएपनि रिभ्युमार्फत जयासुर्या आउट भए ।
उनी आउट भएपछि क्रिजमा आन्द्रे रसेलले लोकेश बमसँगै आक्रमक ब्याटिङ गरेपछि विराटनगरले एक सय माथिको स्कोर बनाएको थियो ।
वर्षाका कारण खेल प्रभावित हुँदा १५ ओभर घटाएर ५/५ ओभरमा छोट्टाइएको थियो। त्यसअघि साँझ ७:२५ मा टसको समय तोकिए पनि सुदूरपश्चिमका कप्तान ऐरीले टसका लागि गएका थिएनन्। त्यसपछि खेल ९:२० बजे मात्र सुरु भएको थियो।
शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा चितवन राइनोज र लुम्बिनी लायन्सले ११ अंक बाँडे। एनपीएलमा आइतबार एक खेल मात्र हुनेछ। जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछन्।












