Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. चौतारा नगरले किन्छ, किसानका तरकारी
 चौतारा नगरले किन्छ, किसानका तरकारी
अर्थ कृषि वरकाेबाेट विशेष समाचार समाज

चौतारा नगरले किन्छ, किसानका तरकारी

by ध्रुव दंगाल June 20, 2023
चाैतारा-तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले उत्पादन बेच्न बजारका घर–पसल धाउनु नपर्ने भएको छ । नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो ।
कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले खेतीमा किसानलाई आकर्षित गर्न उनीहरुका उत्पादन आफैँ खरिद गर्न थालेको हो । सदरमुकाम चौताराको मुख्य बजारमा तरकारी संकलन तथा चिस्यान केन्द्र सञ्चालनमा ल्याएर नगरले दुई सातादेखि किसानका उत्पादन खरिद गरिरहेको छ ।
संकलित तरकारी यही केन्द्रबाट बिक्री हुने गरेको छ । बजारमा खपत हुन नसकेको तरकारी राजधानी लगेर बेच्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । बजार खोज्नु पर्ने बाध्यता हटेपछि स्थानीय किसान उत्साहित भएका छन् । यसअघि तरकारी बोकेर बजारका घर–पसल धाउनु पर्ने बाध्यता थियो । त्यति गर्दा पनि सबै तरकारी बिक्री नहुँदा सस्तोमा छोड्नु पर्ने या घरमै फर्काउनु पर्ने अवस्था थियो ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटा कृषिलाई व्यवसायिक बनाउन किसानमा उर्जा भर्ने उद्देश्यले उनीहरुको उत्पादनको बजारीकणको जिम्मेवारी नगरपालिकाले लिएको बताउँछन् । ‘कृषिलाई व्यवसायिकतासँग जोड्न सके मात्र नगरवासीको जीवन उत्थान हुन्छ भन्ने मान्यता नगरले लिएको छ,’ उनले भने । तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख सापकोटा बताउँछन् ।
  नगरले किसानका तरकारीजन्य सबै उत्पादन खरिद गरिरहेको छ । अहिले नगरको केन्द्रमा गोलभेँडा, साग, सिमी, कांक्रो, फर्सी, खुर्सानी, करेला, घिरौँला लगायत मौसमी उत्पादन संकलन भइरहेको छ । किसानसँग खरिद गरेको तरकारीको भूक्तानी हरेक १५ दिनमा दिने व्यवस्था नगरले गरेको छ । नगरले किसानको बैँक खातामा सिधै रकम जम्मा गरेर भूक्तानी गर्दै आएको छ । बजारमा चलेको भाउ किसानले पाउने नगरले जनाएको छ ।
तरकारी बिक्रीको लागि नगरको संकलन केन्द्रमा आउने किसानको संख्या दिनदिनै बढिरहेको केन्द्र सञ्चालनको जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिजन भएकाले अहिले धेरै मात्रामा संकलन भइरहेको छ । ‘दिनमै २ सय केजीसम्म गोलभेँडा संकलन हुन्छ । यहाँ खपत हुन नसकेको गोलभेँडा कालिमाटी लगेर बेच्छौँ,’ उनले भने ।
अन्यत्र बजार नपाएर किसानले गोलभेँडा फालिरहँदा यहाँका किसानले भने सहजै बजार र मूल्य पाइरहेका छन् । ४० केजीबाट सञ्चालनमा आएको केन्द्रमा अहिले गोलभेँडाबाहेक अन्य तरकारी नै दैनिक १ सय किलोसम्म संकलन भइरहेको छ । नगरको चौतारा गैह्रीगाउँ, कुविण्डे, कल्लेरी, डडुवा लगायत क्षेत्र मौसमी÷बेमौसमी तरकारी उत्पादनको लागि चर्चित छन् ।
कुविण्डेको आलु र दूध यहाँको ब्राण्ड नाम हो । त्यस्तै काउली, गोलभेँडा, मुला, साग, खुर्सानी लगायत उत्पादनमा नगर अग्रणी छ । नगरको मौसमी लेकाली निउरो र डल्ले मुलाको स्वाद सेना, प्रहरी, कर्मचारी र उनीहरुको परिवारको जिब्रोमा झुण्डिएको छ । नगरपालिकाले किसानका उत्पादन खरिद गर्न थालेपछि तरकारीको व्यवसायिक खेती बढ्नेमा नगर ढुक्क छ ।
नगर प्रमुख सापकोटा आफैँमा किसान हुन् । कुविण्डेका उनी बिगतमा उनी आलु खेती गर्थे । २०७९ को स्थानीय निर्वाचनमार्फत उनी नगरपालिकाको नेतृत्वमा आएपछि नगरले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउँदै आएको छ । दोस्रो कार्यकालमा कृषि क्षेत्रको बजेट अझै बढाउने तयारीमा प्रमुख सापकोटा जुटेका छन् ।
नगरले कृषि उत्पादनमा कृषकलाई उत्साही बनाउँदै संकलन केन्द्र थप व्यवस्थित बनाउन चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा चिस्यान केन्द्र निर्माण गरिरहेको छ । नगरको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण भइरहेको यो केन्द्रलाई नगरले आफ्नो गौरवको आयोजनाको रुपमा लिएको छ । चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न भएर सञ्चालनमा आउने नगरले जनाएको छ । छिट्टै नै नगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको प्रमुख सापकोटाले जानकारी दिए ।
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.