बसपार्क सञ्चालन बिवाद : अरनिकाेले जित्यो काठमाडौं महानगरविरुद्धको मुद्दा
चाैतारा-काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण भएको बसपार्क सञ्चालन सम्वन्धी मुद्धा पूर्वअरनिको यातायात प्रालिले जितेको छ ।
उच्च अदातल पाटनले बुधबार अरिनको यातायातले बनाएको उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपािलकालाई आदेश दिएको हो । उच्च अदालतले बसपार्क नभत्काउन भन्दै महानगरलाई निषेधाज्ञाको आदेश दिएको अरनिको यातायातका अध्यक्ष केदारक्षेत्रीले बताए ।
न्यायाधीशद्धय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले अरनिकोले बनाएको बसपार्क नभत्काउन निषेधाज्ञा आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र एकभन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेको थियो । उक्त तयारीप्रति अरनिकोको तर्फबाट श्यामबहादुर लामाले उच्चमा रिट निवदेन दिएका थिए ।
उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले गत २१ असोजमा कम्पनीको पक्षमा अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । अहिले अदालतले कम्पनीको पक्षमा फैसला नै गरिदिएको हो ।
बिगत लामो समयदेखि अरनिकोले राजधानी मध्यपूर्वका जिल्लाहरुमा यातायात सेवा दिँदै आएको छ । अरनिकोले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु लगायत जिल्लाका ग्रामीण भेगसम्मै यातायात सेवा दिइरहेको छ । अरनिकोले अहिले आफ्नो सेवा सञ्जाल देरैभरि बिस्तार गर्ने प्रयास गरिरहेको छ ।
अरनिकोले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन । प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताउँदै आएका छन् ।
‘अदालतको निर्णपछि अब महानगर र प्रदेश सरकारले बसपार्क सञ्चालनको अनुमति दिनु पर्छ,’ अध्यक्ष क्षेत्रीले भने, ‘अदालतले बसपार्क नभत्काउन आदेश दिएको छ । अब हामी यहीँबाट बसपार्क सञ्चालन गछौं । महानगरपालिका र प्रदेशमा सञ्चालनको लागि निवेदन भने दिन्छौँ।’