पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।
इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पछि निगमले शुक्रबार मूल्य समायोजन गरेको हो ।
मूल्य घटे पछि काठमाडौंमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय ५८ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
घटेको मूल्य शुक्रबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको छ ।