सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : नयाँ नेतृत्वको लागि उम्मेदवारी सुरु
अध्यक्षकाे लागि उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार रुपैयाँ शुल्क
बाह्रविसे-सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु भएको छ ।
बाह्रविसेस्थित संघको मुख्य कार्यालयमा सोमबार बिहान ११ बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ । अपराह्न ५ बजेसम्म मनोनयन गर्न सकिने कार्यतालिका छ ।
चैत ९ र १० गते बाह्रविसेमै संघको ११ औँ जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनले २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
जिल्ला अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गर्न १ लाख ६० हजार रुपैयाँ शुल्क तोकिएको छ।
अध्यक्षमा हालसम्म चारजनाले दाबी गरेका छन्। व्यवसायीहरु बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री र अमृत कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन्। अन्य पदका लागि पनि मनोनयन शुल्क मोटो रकम तोकिएको छ।
वरिष्ठ उपाध्यक्षका लागि १ लाख १५ हजार, प्रथम उपाध्यक्ष १ लाख एक हजार, द्वितीय उपाध्यक्ष ९० हजार, तृतीय उपाध्यक्ष ८१ हजार, महासचिवका लागि ७५ हजार, सचिव पदका लागि ७० हजार, सहकोषाध्यक्ष ६० हजार र सदस्यहरुका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
संघमा दुई हजार पाँच सय साधारण सदस्य छन्।