चुनावी तयारी पुरा, सिन्धुपाल्चोकमा कतिले गर्दै छन् मतदान ?
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा २ लाख ७४ हजार ९ सय ९८ मतदाताले मतदान गर्दै छन् । विभिन्न दल र स्वतन्त्र गरी दुबै क्षेत्रमा ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
सिन्धुपाल्चोक–जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत बिहीबार मुलुकभर मतदान हुँदै छ ।
सिन्धुपाल्चोककका झण्डै पौने तीन लाख मतदाताले आफ्नो मतमार्फत आगामी पाँच वर्षको लागि दुई जनप्रतिनिधि चयन गरेर संघीय संसदमा पठाउँदै छन् । निर्वाचन आयोगकका अनुसार मतदान बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म हुनेछ ।
मुख्य निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले सिन्धुपाल्चोकमा मतदानको सबै तयारी पुरा भएको जानकारी दिइन् । उनका अनुसार चुनाव गराउन मतदान केन्द्र पुगेका निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले मतदानस्थल निर्माण सम्पन्न गरेका छन् । मतदाता मतदानको पखाईमा छन् ।
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा २ लाख ७४ हजार ९ सय ९८ मतदाताले मतदान गर्दै छन् । विभिन्न दल र स्वतन्त्र गरी दुबै क्षेत्रमा ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचन क्षेत्र नं. १ मा ८३ मतदानस्थलका १ सय ७२ केन्द्रमार्फत मतदान हुँदै छ । यहाँ ७१ हजार २ सय ६२ पुरुष र ६५ हजार ७ सय २३ महिला गरी १ लाख ३६ हजार ९ सय ८५ मतदाता छन् । १५ राजनीतिक दल र तीन स्वतन्त्र गरी १८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । क्षेत्र नं. १ मा एमालेबाट सरेश नेपाल, नेपाली कांग्रेसबाट जंगबहादुर लामा, नेपाली कम्युनिस्ट पार्टीबाट माधव सापकोटा सुवोध र रास्वपाबाट भरत पराजुली मुख्य प्रतिस्पर्धामा छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ६३ मतदानस्थलका १ सय ६६ केन्द्रबाट मतदाताले भोट खसाल्दै छन् । यहाँ १ लाख ३८ हजार १३ मतदाता छन् । जसमा ७२ हजार ४० पुरुष र ६५ हजार ९ सय ७३ महिला मतदाता रहेको आयोगको तथ्यांक छ । स्वतन्त्र तीनसहित १८ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङ, कांग्रेसका बंशलाल तामाङ, नेकपाका युवराज दुलाल शरद र रास्वपाका झलककुमार श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन् ।
सरकारी कर्मचारी, सेना, प्रहरी, कारागारका कैदी, बन्दीका लागि अस्थायी मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुले समानुपातिकतर्फ मतदान गर्ने छन् ।
तीन घेराको सुरक्षा
जिल्लाका प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सुरक्षा दिने छन् ।
मतदान केन्द्रको नजिकै रहेर सशस्त्र प्रहरी दोस्रो घेराको सुरक्षा दिने छ भने केन्द्र आसपासमै रहेर नेपाली सेनाले तेस्रो घेराबाट सुरक्षा दिइरहेको हुने छ । यो बाहेक मुठभेड र झडपको अवस्थामा मैजुदा सुरक्षा फौजको व्यवस्था गरिएको छ ।
अपराह्न ५ बजे मतदान सम्पन्न भएपछि तत्काल मतपेटिका सदरमुकाम चौतारा ल्याउने तयारी छ । यसको लागि प्रत्येक केन्द्रमा सवारी साधनको व्यवस्था गरिएको छ । पाँचपोखरीको यांग्री र सेर्माथान तथा जुगल गाउापालिकाको तेम्बाथानबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टराई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृत बख्रेलले जानकारी दिइन् ।
तस्बिर : मतदानको पर्खाइमा इन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुर स्थित मतदान केन्द्र । तस्बिर : फूलमान तामाङ
प्रतिक्रिया