नयाँ वर्षमा भोटेकोसी–१ बाट ४४ मेगावाट विद्युत थपिँदै
अध्यक्ष कार्कीले नै नेतृत्व गरेको कालिका इनर्जी प्रालिले मध्यभोटेकोसी आयोजनाको उत्पादनगृहबाट खोलामा पानी निस्कन नदिई जमिन भित्रैबाट नयाँ सुरुङमा हालेर ४६ मेगावट क्षमताको भोटेकोसी–५ आयोजना निर्माणको तयारी गरेको छ ।
भोटेकोसी । २०८३ को नयाँ वर्ष उपहारमा राष्ट्रिय प्रशारण लाइनमा ४४ मेगावाट विद्युत थपिने भएको छ ।
नेपाल–चीन सीमावर्ती भोटेकोसी गाउँपालिकामा निजी क्षेत्रको अगुवाईमा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेसँगै आगामी वर्षको सुरुमै उत्पादन थाल्ने गरी काम भइरहेको हो ।
इलेक्ट्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको बाँध, सुरुङ र उत्पादन गृहको काम एकसाथ तीव्र गतिमा भइरहेको छ । ‘यी संरचना (सिभिल इन्जिनियरिङ) को काम ८० प्रतिशत सकियो,’ इलेक्ट्रो पावरका अध्यक्ष मोहनबिक्रम कार्कीले भने, ‘उपभोक्तालाई नयाँ वर्ष उपहारमा थप बिजुली दिने योजनासाथ निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।’
आयोजनाको मुख्य तीनमध्येको एक संरचना सुरुमार्ग भदौ १० गते ‘ब्रेक थ्रु’ (बारपार) गरिएको थियो । २ हजार ६ सय ३८ मिटर लामो सुरुङको जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र आयोजना रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले संयुक्त रुपमा अन्तिम बिष्फोटद्धारा ‘ब्रेक थ्रु’ गराएका थिए ।
सुरुङ निर्माणमा संलग्न ठेकेदार कम्पनी भूगोल इन्फ्राइटक्चर प्रालिले त्यसको फाइनल फिनिसिङ ढिलोमा फागुनदेखि चैतभित्रै सकिने दाबी गरेको छ । यो समय भित्रै इलेक्ट्रो मेकालिकलको कामसमेत सक्ने तयारी रहेको अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार भोटेकोसी नदीको बहाबमा आधारित यो आयोजनाको उत्पादन गृह भूमिगत हुने छ ।
भोटेकोसी गाउँपालिका–३ र ४ मा बाँध र सोही पालिका–५ चाकुमा जमिनभित्र उत्पादन गृह निर्माणको काम भइरहेको छ । निर्माण सकिँदासम्म आयोजनाको लागत ९ अर्ब ५६ करोड रुपैयाँ पुग्ने लगानीकर्ताहरुको अनुमान छ ।
भोटेकोसी गाउँपालिकाको सीमाभित्र भोटेकोसी नदी करिडोर र आसपसमा बनेको यो नवौँ जलविद्युत आयोजना हो । भोटेकोसीको झीर्पुमा ४५ मेगावाट क्षमताको भोटेकोसी आयोजना २०५६ बाट सञ्चालित छ । भोटेकोसीको चाकुमै बाँध रहेको १ सय २ मेगावाट क्षमताको
मध्यभोटेकोसी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको छ । भोटेकोसी नदी किनारमै उत्पादन गृह रहेको माथिल्लो, मध्य र तल्लो चाकु गरी तीन आयोजनाले झण्डै पाँच मेगावाट बिजुली उत्पादन गरिरहेका छन् ।
यी आयोजनाकै माथि २२ मेगावाट क्षमताको शिवश्री हाइड्रो पावरले उत्पादन दिइरहेको छ । भोटेकोसी नदीमा मिसिने भैरबकुण्ड र लिपिङ खोलामा सोही नामका दुई आयोजना सञ्चालनमा छन् ।

अध्यक्ष कार्कीले नै नेतृत्व गरेको कालिका इनर्जी प्रालिले मध्यभोटेकोसी आयोजनाको उत्पादनगृहबाट खोलामा पानी निस्कन नदिई जमिन भित्रैबाट नयाँ सुरुङमा हालेर ४६ मेगावट क्षमताको भोटेकोसी–५ आयोजना निर्माणको तयारी गरेको छ ।
९ अर्ब ७२ करोड रुपैयाँ लागतमा बाह्रविसे नगरपालिका र सुनकोसी गाउँपालिका बन्ने यो आयोजनाको भदौ पहिलो साता प्रारम्भिक बातावरणीय सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । सफल जलविद्युत व्यवसायी मानिने अध्यक्ष कार्कीले आफ्नो नेतृत्वमा मुलुकका विभिन्न जिल्लामा १० आयोजना सम्पन्न भएर जिद्युत उत्पादन भइरहेको जानकारी दिए । उनकै अगुवाइमा थप पाँच आयोजना पाइप लाइन्मा छन् ।
भोटेकोसी–५ समेत बनेमा भोटेकोसी नदीको झण्डै ३० किलोमिटर दुरीको भोटेकोसी करिडोर क्षेत्रमा जलविद्युत आयोजनाको संख्या १० पुग्ने छ ।
तस्बिर : ४४ मेगावाट क्षमताको भोटेकोसी–५ आयोजनाको निर्माणाधीन बाँध (माथि) ।