सञ्जय राई बने छैठौँ लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस च्याम्पियन
सिन्धुपाल्चोक–धावक सञ्जय राई छैठौँ लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
सोमबार सम्पन्न प्रतियोगितामा १ सय २७ प्रतिस्पर्धीलाई उछिन्दै उनी खुला विधातर्फ बिजेता बनेका हुन् । साढे २४ किलोमिटर लामो ट्रेलरेस २ घण्टा ११ मिनेटमा पुरा गर्दै राईले नगद १ लाख १० हजार रुपैयाँ पुरस्कार जिते ।

चौथो संस्करणका विजेता करण रावल दोस्रो भए । निर्धारित दुरीको दौड २ घण्टा १२ मिनेटमा पार गरेर नेपाली सेनाका धावक रावलले ७५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो बनेर ५५ हजार रुपैयाँ पुरस्कार जितेका धावक रमेश लिम्बुले २ घण्टा १४ मिनेटमा दौड पार गरेका थिए ।
खुलातर्फ नै नरेन्द्रसिंह रावल, लोकेन्द्र राई, राजेन्द्र तामाङ, विशाल राई, विशालबहादुर तामाङ, प्रवल क्षेत्री र राजन मेयोङ्वाले उत्कृष्ट १० भित्र परेर दौड पुरा गर्दै जनही ५ हजार रुपैयाँ पुरस्कार जिते ।

महिला विधातर्फ सशस्त्र प्रहरी बलकी धाविका आश्मा बिक बिजेता बनिन् । २ घण्टा ५८ सेकेण्डमा दौड पुरा गरेकी उनले नगद ६० हजार रुपैयाँ पुरस्कार जितिन् । धाविका चन्दना राई दोस्रो र भावना शाही तेस्रो भए । उनीहरुले क्रमशः ३५ र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
ती बिधामा प्रतिस्पर्धा गराइएको प्रतियोगिताको स्थानीयतर्फको दौडमा भोटेकोसी गाउँपालिकाका जाङ्बो शेर्पा, कृष्ण भण्डारी र निमाछिरि तामाङ क्रमशः प्रथम, द्धितीय र तृतीय भए । उनीहरुले ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार क्रमशः हात पारे ।
बिजेता धावक तथा धाविकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपत्यका पृतनाका पृतनापति उपरथि रविन्द्र खत्री, नम्बर २६ बाहिनीका बाहिनीपति भीमशंकर बम, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पाशाङनुर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, इन्द्रध्वज गणका गणपति प्रमुख सेनानी अदित श्रेष्ठ लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भोटेकोसी गाउँपालिकाको प्रायोजनमा संयोजन तथा आर्थिक सहयोगमा नेपाली सेनाले ६ वर्षदेखि लगातार यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटक चौतारास्थित इन्द्रध्वज गणले प्रतियोगिताको आयोजना गरेको थियो ।
तिब्बतसँगको युद्धकिल्ला दुगुनागढीको संरक्षण र प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको ट्रेलरेस तातोपानीस्थित सुख्खा बन्दरगाह भन्सारबाट सुरु भएर नयाँ पुल, पाङलाङ, लिस्तिकोट हुँदै २ हजार ४ सय २५ मिटर उचाइको गुम्बा पुगेर सिल्दुम, धारापानी गोदाम भएर २ हजार १ सय २२ मिटर उचाइको दुगुनागढी आएर सम्मन्न भएको थियो ।