Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. साहित्य
  3. महाकवि बाँचिरहेका भए!
 महाकवि बाँचिरहेका भए!
साहित्य

महाकवि बाँचिरहेका भए!

by वरकाेबाेट संवाददाता December 20, 2023

नारायणगाेपाल

महाकवि देवकोटा बाँचिरहेको भए कति खुसी हुने थिए होलान्, उहाँकै गीत ‘सागरभरि छाती चिरी’ सुनेर। एकदिन गीत सुनाऊ है नानी भन्ने उहाँको आवाज मेरो कानमा अझै गुञ्जिरहेको छ। नजाने अरु के-के भन्नुभएको थियो उहाँले त्यतिबेला, सम्झन सक्तिनँ। कारण, त्यतिबेला म सानै थिएँ।

भारतीय सांस्कृतिक केन्द्र वसन्तपुरमा भएको हाम्रो भेटघाटको त्यो दिन म निकै खुसी भएको थिएँ, आफ्ना प्यारा कविबाट गीत गाउने प्रेरणा पाएर। तर… तर उक्त पहिलो भेटघाट अन्तिम पनि बन्न जान्छ भनेर मैले सोचेको पनि थिइनँ। एकदिन म सुन्छु- देवकोटा हामी सबैलाई छाडी क्षितिज पारि जानुभयो रे।

म छाँगोबाट खसेको अनुभव गर्दै आर्यघाट पुग्छु। एकचोटि कमसेकम मुख हेर्ने मेरो इच्छा थियो तर… म निकै ढिलो पुगेको रहेछु, रोक्दारोक्दै पनि दुई थोपा आँसु झर्छन् मेरा आँखाबाट। गीत सुन्ने मेरा महाकविको धोकोलाई मैले पूरा गर्न सकिनँ, म कति अभागी!

भारतीय सांस्कृतिक केन्द्रमा पहिलो र अन्तिम भेट महाकविसित भएको मेरो जीवनको एक अविष्मरणीय घटना हो। एक धमिलो सम्झना आएर खडा हुन्छ मेरो अघिल्तिर त्यस दिनको, अनि लाग्छ- महाकविले मेरो गीत सुनिरहेका छन् यहीँ कहीँ शीत, बतास, फूल, माटो, ढुंगा, पहरा, छहरा, खोला, वन, पाखा र पर्वत अनि आकाशभरिभरि नै लुकेर।

जिन्दगीको गोरेटोमा उफ्रँदै, ढलमलाउँदै, सुस्केरा हाल्दै, सुसेल्दै अनि गुनगुनाउँदै कहाँ-कहाँ पुग्छु म, मलाई थाहा छैन। एकदिन म यस्तो ठाउँमा आएर विश्राम लिन पुग्छु, जहाँ मैले आफ्नो अस्तित्तवको नाङ्गो आभास पाउँछु। मैले सबै-सबै हराइसकेको रहेछु यात्राको लामो अवधिमा। हरलाको याद आउँछ- कसरी उसलाई एक अज्ञात बाउन्नेले इल्युजनमा पारेको रहेछ। (बिचरा हरला ! के तिम्रो यात्रा कहिल्यै टुंगिएला ?) हतास भएर मैले यता-उता हेरेँ, निकै अबेर भइसकेको रहेछ।

विवशताको कुहिरो मेरो सम्पूर्ण शरीरभरि नै फैलिएर मलाई बन्द गरिदिन्छ काठमान्डूको मुटुभित्र।

अनायासै एकदिन नगेन्द्र (शर्मा) ले आएर झकझक्याउँछ मलाई। म ब्यूँझन्छु। एक गीति प्रदर्शन गर्ने कुरा झिक्छ। वर्षौंदेखि कोठामा लडिराखेको तानपूरा, हार्मोनियम, मादल र मेन्डोलिनलाई सोध्छु म। उनीहरुको मौनता भंग हुँदैन। मैले अस्वीकृतिको बोध दर्शाइदिएँ। उसले सम्झाउँदै थियो मलाई बाख र बिथोवन अनि देवकोटा र रिमालको उदाहरण दिँदै। किंकर्त्तव्यविमूढ भएर म पश्चिमपट्टि खुलिराखेको झ्यालबाट टाढा-टाढासम्म हेर्ने प्रयास गर्छु छातीभरि अन्तरद्वन्द्वको पहाड बोकेर। म यसरी निकैबेर अलमलिरहेको थिएँ, नगेन्द्रले कुन्नि के-के भन्दै थियो, म सुन्दिनँ। अकस्मात् स्वयम्भूमाथि मेरो दृष्टि पुग्छ, हावाको एक झोक्का आएर कोठाको सारा वातावरणलाई तरंगित बनाइदिन्छ, बाजाहरु झंकृत हुन्छन्।

मेरो मीत गोपाल योञ्जनको संगीत र मेरो स्वरको समन्वय गरेर मीतज्यू नाइट भनेर नामकरण भएको गीति प्रदर्शन पुलिस क्लबमा गर्ने पक्का हुन्छ। साथीहरुबाट सहयोग पाइने भयो, मीतज्यू थापाथलीमा रिहर्सल गर्न थाल्नुहुन्छ, नगेन्द्र चाँजो मिलाउने कामतिर। किलागलको चारतले कोठामा पश्चिमबाट आएको चिसो सिरेटोसँग हाँस्दै-खेल्दै म गीत गाउँछु लगातार दुई… तीन… चार अनि पाँच घन्टासम्म। वर्षौंपछिको अभ्यासले कस्तो-कस्तो एक प्रकारको चिरचिराहट उत्पन्न भएको रहेछ मेरो आवाजमा। जे होस्, विश्वास सधैं मेरो साथमा थियो र भाद्र १, २ र ३ गते पुलिस क्लबमा कार्यक्रम हुन्छ।

जेठी साँझपछि माहिली साँ जान्छे पालैपालो सलाम गरेर अनि कान्छी आउँछे टन्न भरेको छाती बोकेर हाँसो र आँखाभरि उत्सुकता दौडिरहेको मैले मञ्चको पर्दाभित्रैबाट लुकेर हेरेँ। खुसीले मेरो छाती हिमाल जत्रो भएर आयो।

पर्दा खुल्छ। दर्शकहरुको दृष्टि ‘हाम्रो कलाकार हाम्रो गीत’ को तुलिकाक्षरमाथि पर्छ। मेरा साथी अनि भाइबहिनीहरु पहिल्यै स्टेजमा आ-आफ्नो तयारीसाथ बसेका हुन्छन्।

नगेन्द्रले उद्घोषण गर्छ अनि परिचय गराउँछ हामी सबैको। एकातिरबाट मीतज्यू र अर्कोतिरबाट म आएर श्रोता महानुभावहरुलाई अभिभावन गर्छौं। कार्यक्रम सुरु हुन्छ ‘सबलाई रिझाऊ भन्दा पसलमा बेचिएछु, मेरा कोही भए सबैको म भएछु’ बाट अनि टुंगिन्छ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा।’ श्रोताहरुको ताली र बधाईको बाँध फुटेर मभित्र जन्माइदिन्छ एक सन्देहको काँचो धागो ‘के उपहास त होइन !’ नयाँ-नया दर्शकहरुले बधाईमाथि धन्यवाद दिँदै थिए मलाई, उनीहरुको मन पर्ने गीत गाइदियो भनेर। गुड नाइट ! गुड नाइट !! भन्दै हात हल्लाउँदै गए सबै। हेर्दाहेर्दै मोटर अँध्यारोमा पुलिस क्लबको ढोका नाघेर नजाने कतातिर मोडिन्छ, म पत्तै पाउँदिनँ। श्रोताहरु आफ्नो बाटो लाग्छन् मीतज्यू नाइटको सुस्केराहरु बोकेर, अन्तमा म पनि लाग्छु घरतिर कुन्नि के-के बोकेर।

घर पुगेर ओछ्यानमा पल्टिँदा किसिम-किसिमका कुरा मनमा खेल्छन्। होसै भएन, कुन बेला निदाएछु।

यसरी तीनदिने उक्त नाइट सफल र रोचक भन्ने श्रोताहरुको प्रतिक्रिया हुँदाहुँदै पनि मलाई चित्त बुझेको थिएन कति कुराको। गीत गाउँदा कैयन् त्रुटि गरेँ, आवाजमा पूर्णता थिए, भाव र अभिव्यक्ति दिने प्रयत्न गरेको हुँ, कहाँसम्म सफल भएँ वा असफल, श्रोताहरु जानून्।

लामो समयपछि यसरी गीत गाउँदा सफल होस् वा नहोस्, गीत गाउने प्रेरणा पाएको थिएँ अवश्यै श्रोताहरुको चाखले गर्दा, यसैमा मलाई सन्तोष थियो। तर, बाटा-बाटामा, रेस्टुराँमा, कोठामा, पार्कमा मलाई साथीहरुले, हितैषीहरुले व्यंग्यात्मक प्रश्न गरे, ‘गीत गाएर के पायौ ?’ घरमा त्यही प्रश्न, टोलमा त्यही प्रश्न, नजाने अरु कहाँ-कहाँबाट यस्तो प्रश्न आउने हो, बुझ्दिनँ। के जवाफ दिऊँ म उनीहरुलाई ? आर्थिक लाभको मात्र ध्यान दिएर आत्मा विरुद्ध भिन्न-भिन्न प्रकारले फाइदा उठाउने कोसिस गरेको भए म पनि अर्कै भइसक्थेँ हुँला, तर म चाहन्नँ ती सब, बरु ढुंगा खाएर मर्छु। मलाई केवल जनताको सहानुभूति भए पुग्छ। कारण, म जनताको लागि मात्र गाउँछु।

‘मीतज्यू नाइट’ गरेर म र मेरा साथीहरुर करोडपति बन्न खोजेका होइनन्, कलाकार र साहित्यकारको जिउँदो लाश (रुप) मात्र देखाउने प्रयास भएको थियो। हामीले उनीहरुप्रति श्रद्धा र सहानुभूति मात्र पेश गर्न सक्यौं, सायद यो हाम्रो भूल थियो। त्यसैले त होला, महान् कहलाउने कवयित्रीले हामीलाई सातपत्रे आडम्बर भनेर दोष लाउने असफल प्रयास गर्नुभएको ? मीतज्यू नाइटको उद्गार ढोंग हो भने उहाँका कृतिहरु नि ? धेरै दुःख लाग्यो मलाई एक कवयित्रीले कलाकारको भावना नबुझेकोमा। संगीत जस्तो कठिन, अमूर्त अनि विवादास्पद विषयमाथि लेख्नु नै किन (?) यो उहाँको विषय होइन। कस्तो हास्यास्पद अनि दुःखद कुरा!

मेरो मन फेरि भाँच्चिएको छ। सती जाने बेलामा भीम मल्लकी विधवा स्त्रीले साँच्चै मेरो देशलाई सराप दिएकी थिइन् रे। मलाई थाहा छैन, घरबाट मैले अझै कति धिक्कार पाउनु बाँकी छ र श्रोताहरु अनि हितैषीहरुबाट स्याबास अनि यही स्याबास र धिक्कारको लहरसँग पौडी खेल्दाखेल्दै म नजाने कहाँ पुग्छु एकदिन, मलाई थाहा छैन। म गीत सुनाउँछु, सुनाउँदै जान्छु मेरा स्वजनहरुलाई, एकले भन्छ- स्याबास। दोस्रोले सोध्छ- के पायौं ? घरबाट आउँछ- धिक्कार!

आज मेरा महाकवि बाँचिरहेका भए एक पन्थ दुई काज हुन्थ्यो होला। एक, उनको गीत सुन्ने धोकोलाई पूरा गर्थे। दोस्रो सोध्ने थिए- ‘गीत गाएर मैले के पाएँ?’

गोरखापत्रका एक सय एक निबन्ध (२०६०) बाट

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.