Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. वरकाेबाेट विशेष
  3. मैले यसकारण सुवर्णजीको वक्तव्य अनुमोदन गरिनँ
 मैले यसकारण सुवर्णजीको वक्तव्य अनुमोदन गरिनँ
वरकाेबाेट विशेष साहित्य

मैले यसकारण सुवर्णजीको वक्तव्य अनुमोदन गरिनँ

by वरकाेबाेट संवाददाता December 20, 2023

अब गिरिजाले धेरै सचेत हुनु जरूरी छ। यस परिस्थितिमा उनले आफैँलाई कसरी अगाडि बढाउने हुन्? मलाई थाहा छैन। उनी राजासँग आफ्नो वचन आफैँ पूरा नगरेकोमा रूष्ट छन् भने वार्ताको बीचमा हस्तक्षेप गरेकोमा भारतीय राजदूतसँग पनि रूष्ट छन्। अहिले विकसित भएर आएको अति नै असहज परिस्थितिमा हाम्रा कार्यकर्ताले वामपन्थी कार्यशैली र विचारधारा बढी आकर्षक रहेको पाउन सक्छन्। गिरिजा आफैं पनि अहिले ठूलो द्विविधामा रहेको बताउँछन्।

बिपी काेइराला

अक्टुबर ८ (२३ असोज, २०२५)

दिनभरि नै बडो छट्पटी र अनन्त बेचैनीमा रहेँ। मेरो मनमा सबै थरीका विचार र सोचहरू उठिरहे। यसको समग्र असर भनेको तीव्र मानसिक ग्लानि, छट्पटी र उदासीको रूपमा देखियो। राजनीतिक समस्या त छँदै थियो। तर हामी आठ वर्ष जेल बसिसक्दा पनि उक्त राजनीतिक समस्या सुल्झिने र हामीले यहाँबाट मुक्त पाउने कुनै छाँटकाँट थिएन।

सुवर्णजीले मौजुदा व्यवस्थालाई सहयोग गर्छौँ भनेर दिनुभएको मन्तव्यबारे राजाले त्यस कुराको सम्बोधन गर्लान् र परिस्थिति अलि सहज बनाउलान् भन्ने केही आशा जागेको थियो। सुवर्णजीले केही कदम चाल्नुभएको छ जसपछि राजाले यस दिशामा थप काम गर्ने छन् भन्ने विश्वास गरिएको थियो। यो आशा राजाले अमेरिकामा दिएको उनकै भनाइमा आधारित थियो जसमा उनले भनेका थिए, सुवर्णले कस्तो आचरण देखाउनुहुन्छ? हाम्रो रिहाइ त्यसैमा आधारित हुनेछ। यसको अर्थ सुवर्णजीबाट राम्रो आचरणको अपेक्षा गरेर हामीलाई बन्धक बनाइएको थियो।

अहिले जब सुवर्णजीले त्यस्तै आचरण गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ। राजा त्यसले पुग्दैन भन्न थालेका छन् र मैले पनि त्यस्तै बाचा गरुँ भन्ने चाहिरहेका छन्। जेलमा रहिरहेको म कमसेकम यो पनि सोचिरहेको थिएँ कि सुवर्णजीले त्यस्तो वक्तव्य दिनुपूर्व उहाँ र राजा (वा उनको तर्फबाट नेपाल सरकारको कुनै प्रतिनिधि) बीच कुनै प्रकारको गोप्य समझदारी भएको थियो।

मैले राजालाई उक्त वक्तव्यलाई अनुमोदन गर्दिनँ भनेर यहीँबाट खबर पठाएँ। कुरा प्रस्ट छ। मैले त्यसो गरेँ भने भयको वातावरणमा मैले पूर्णरूपमा आत्मसमर्पण गरेको हुँ भन्ने व्याख्या गरिने छ। सुवर्णजीको वक्तव्यको अनुमोदन नगर्नुको जुन कारण मैले दिएँ, त्यसलाई अस्वीकार गरेर राजाले त्यो राजनैतिक विषय होइन, व्यक्तिगत प्रतिद्वन्द्विताबाट प्रेरित छन् भन्ने देखाएका छन्। हाम्रो समस्या त्यहीँनिर छ। जब कोही व्यक्ति राजनीतिमा पनि विशुद्ध व्यक्तिगत उद्देश्यबाट प्रेरित रहन्छ, त्यस्तासँग कुनै पनि प्रकारको राजनीतिक समझदारी सम्भव हुँदैन।

राजाको नियत शङ्कास्पद छ। हामीले सुवर्णजीको वक्तव्य अनुमोदन गर्‍यौँ भने पनि राजा उसै गरी उदासीन रहनेछन् भन्ने गणेशमानजीको भनाइसँग म सहमत छु। राजाले सुवर्णको वक्तव्य आउँदा पनि त्यसै त गरे। उनलाई आफ्नो बाचा पूरा गर्न लगाउने कुनै लगाम नै छैन। नेपालको राजनीतिमा सबैभन्दा दुर्भाग्यपूर्ण भनेको राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति भनिएका राजाले आफ्नै शब्दहरूको वजन र सम्मान नराख्नु हो। आजको परिस्थितिको भद्दा स्वरूप पनि यही हो।

साम्यवादी समस्याको खतरा दिनैपिच्छे तीव्र गतिका साथ बढिरहेको छ। हामी र राजाबीच कुनै सम्मानजनक समझदारी हुन सकेको भए हामीले मिलेर यस चुनौतीको सामना गर्न सक्ने थियौँ। यदि कसैले काङ्ग्रेसले राजाको निर्देशनलाई शिरोपर गरेर आत्मसमर्पण गर्‍यो भने यसले साम्यवादीहरूको सामना गर्ने आफ्नो क्षमतालाई अक्षुण्ण राख्न सक्छ भनेर सोच्छ भने उसले वर्तमान राजनैतिक परिस्थितिलाई बुझेकै छैन।

हामीजस्ता प्रजातान्त्रिक पार्टीको शक्ति मूलभूत रूपमा हामीले जनताको मनमा उत्पन्न गर्न सक्ने सदाचार र निस्वार्थताको छविमा टिकेको हुन्छ। यस्तो छवि नहुँदासम्म हामी प्रभावशाली हुनै सक्दैनौँ। म के कुरामा स्पष्ट छु भने राजालाई खुसी पार्न एकै झट्कामा उनको हठअगाडि झुकेर सबै कुरा गुमाउनुभन्दा राजाको आग्रह नमानेर तथा गिरिजाले पहल गरिरहेको सम्झौताको सम्भावनालाई लत्याउने जोखिम मोलेर हामीले भविष्यमा हाम्रा सामु आउन सक्ने सम्भावनामा हामी अझै प्रभावशाली हुनसक्छौँ भन्ने कुरालाई बचाएका छौँ। मलाई लाग्छ, हामीसँग भविष्य छ जसलाई म आज स्तरहीन उद्देश्य पालेका राजालाई खुसी पार्ने नाममा खल्बल्याउन चाहन्नँ।

हिजो हामीलाई छलफलका लागि तीन घन्टाको समय दिइएको भए तापनि म धेरै दिक्क भएकोले राजाका सर्त लत्याएको परिणाम कस्तो आउने हो? त्यसबारे सोच्नै सकिनँ। (सर्त? विजेताका तर्फबाट पनि कुनै प्रतिबद्धता त हुनुपर्‍यो। उनको सर्त मान्न मलाई बाध्य बनाउनका लागि राजा आफैँले पनि केही प्रतिबद्धता गर्लान् त?)

हाम्रा लागि परिस्थिति अझै जटिल भएर गयो।

अब गिरिजाले धेरै सचेत हुनु जरूरी छ। यस परिस्थितिमा उनले आफैँलाई कसरी अगाडि बढाउने हुन्? मलाई थाहा छैन। उनी राजासँग आफ्नो वचन आफैँ पूरा नगरेकोमा रूष्ट छन् भने वार्ताको बीचमा हस्तक्षेप गरेकोमा भारतीय राजदूतसँग पनि रूष्ट छन्। अहिले विकसित भएर आएको अति नै असहज परिस्थितिमा हाम्रा कार्यकर्ताले वामपन्थी कार्यशैली र विचारधारा बढी आकर्षक रहेको पाउन सक्छन्। गिरिजा आफैं पनि अहिले ठूलो द्विविधामा रहेको बताउँछन्।

आज दिनभरि नै म गिरिजाका बारेमा सोचिरहेँ। उनको स्थिति धेरै जटिल हुन पुगेको छ। उनले अब के गर्छन् ? त्यसबारे उनी आफैँ प्रस्ट छैनन्। मलाई कुन कुराको पछुतो छ भने मैले उनलाई कुनै सान्त्वना पनि दिइनँ र धैर्य राख्ने सल्लाह पनि दिइनँ। उनले एकपल्ट भनेजस्तै उनले जयप्रकाशजीलाई भेट्लान् र एकपल्ट दिल्लीतिर पनि जालान्।

निराशाको मौजुद अवस्था, राजाबाट भएको धोका र मैले सुवर्णजीको वक्तव्यलाई अनुमोदित गरुँ भन्ने उनको अन्तिम क्षणसम्मको अडान असफल भएको घटनाबाट आहत भएका ऊ केही साता आफूलाई यसै गरी व्यस्त राख्न चाहन्छ। उसको स्थिति सोचेर म बढी चिन्तित भएँ।

म सुशीला र परिवारका अन्य सदस्यहरूलाई पनि सम्झिरहेको छु। उनीहरूम छिट्टै रिहा हुन्छु भन्ने आशा पालेर पर्खिरहेका छन्। पछिल्लो कुरा सुनेरै उनीहरूज्यादै निराश हुनेछन्। उनीहरूको जीवन साह्रै कष्टपूर्ण हुन पुगेको छ। हाम्रो घरको आर्थिक अवस्था पनि उस्तै नाजुक भएको छ।

आज चाडपर्वको बिदामा रोकिएका अखबारको एउटा चाङ नै आइपुग्यो। तर मेरो मनमा कुनै कुरा पनि अडिइरहेको छैन। म उदासीका कारण आज धेरै भावुक भएको छु। कुनै पनि कामका लागि धेरै नै नाजुक भएको छु। गणेशमानजी भने यस प्रकारका मानसिक छट्पटीबाट कहिल्यै आक्रान्त हुनुहुन्न। म भने भावनात्मक अस्थिरताको शिकार भइ नै रहन्छु। उहाँको मलाई ईर्ष्या नै लाग्छ। कुनै कुराले पनि उहाँलाई असर गरेजस्तो लाग्दैन। मैले पनि कमसेकम पढाइ र लेखाइमा ध्यान लगाउन सकेको भए?

अक्टुबर १० (२५ असोज, २०२५)

गिरिजालाई सन्देश पठाएर अलि कूटनीतिक र तार्किक हुनू, राजा र भारतलाई नचिढाउनू या भारत र राजाका विरूद्ध नउभिनू र सुवर्णजी र पार्टी कार्यकर्तामाझ अहिलेको अवस्थाका ठीकठाक व्याख्या गर्नू भनेँ। मलाई कुन कुराको पछुतो छ भने हाम्रो पछिल्लो भेटमा मसँग मौका हुँदाहुँदै पनि मैले गिरिजालाई उनको प्रयास असफल भइसकेको अवस्थामा अब अति नै चनाखो हुनू भन्ने सल्लाह दिइनँ। म आफैँ यति उदास थिएँ कि अहिले अति जटिल परिस्थिति उत्पन्न भएकोमा हामीले अधिकतम सजगता, धैर्य र राजनीतिक सुझबुझ अपनाउनुपर्छ भन्ने कुरा पूरै बिर्सेछु।

राजा बलियो स्थितिमा छन्। त्यसैले अहिले हामीले भारतलाई चिड्याउने जोखिम लिनुहुँदैन। यद्यपि भारत आफैँ पनि राजासँगको सम्बन्धमा त्यति प्रभावशाली देखिएको छैन। अर्कोतिर सुवर्णजीले जसोतसो ऐक्यबद्धता र एक ढिका गरेर राख्नुभएको पार्टीलाई टुक्रन दिनु पनि हामीले हुँदैन। मेरो शक्ति पार्टी अक्षुण्ण रहनुमा निर्भर छ। हो, मलाई यहीँनेर आशङ्का छ, सुवर्णजीको वक्तव्यको अनुमोदन जेलमै रहेको अवस्थामा गर्नू भन्ने राजाको दबाब मैले मानिनँ। यसबाट पार्टीका प्रभावशाली कार्यकर्ताको सुवर्णजीप्रतिको विश्वास टुट्न सक्छ र उनीहरूकम्युनिस्ट पार्टीतिर प्रवृत्त हुन सक्छन्।

मैले मेरो इज्जतको ख्याल राम्रोसँग राखेको छु। किनभने मैले आफ्नो इज्जत कायम राखेर यहाँबाट बाहिर निस्किइनँ भने म राजनीतिमा प्रभावशाली हुन सक्दिनँ र कारागारमा रहेर मैले बनाएको आकर्षण र राजनीतिक पुँजी गुमाउने छु। सरकार र हामी बीचको लामो राजनीतिक गतिरोधका कारण असङ्गठित भएको पार्टीलाई राजाका सर्त मानेर तथा वार्ता सुचारू गरेर मैले बचाउन सक्थेँ। तर मैले त्यसो गरिनँ। त्यसैले कहिलेकाहीँ मनमा आशंका उठ्छ- पार्टीलाई जोखिममा पारेर म व्यक्तिगत इज्जतको रक्षामा पो बढी लागें कि? तर फेरि प्रश्न के हो भने के मैले राजालाई विश्वास गर्न सक्थें? सुवर्णजीले सहयोगको प्रस्ताव राख्दा अडिग बसेका राजाले मलाई उसै गरेका भए मैले कुनै लाभबिना आफ्नो सम्पूर्ण इज्जत गुमाउने थिएँ।

मैले यी सबै कुराको चर्चा गिरिजासँग गर्नुपर्थ्यो, उनको र मेरो पछिल्लो गोप्य वार्तामा।

म मेरो स्वास्थ्यबारे पनि अत्यन्त चिन्तित छु। कुनै गम्भीर बिरामीबाट ग्रसित छु किजस्तो आशङ्का लाग्छ। जो क्यान्सर पनि हुनसक्छ जसलाई डाक्टरहरूले पनि पत्ता लगाउन सकिरहेका छैनन्। म पेटमा विशेष गरी तल्लो भागमा निरन्तर दुखाइको अनुभव गरिरहेको हुन्छु। पछाडि र दायाँ पाखुरामा पनि निरन्तर दुखिरहन्छ। तर डाक्टरहरूयस दुखाइको कारण पत्ता लगाउन केही पनि गरिरहेका छैनन्।

मलाई सुशीलाको सम्झना आइरहेको छ।

अक्टुबर ११ (२६ असोज, २०२५)

मैले के-के गरेँ ? त्यसमाथि पछुताएर कुनै काम छैन। जे गरियो, गरियो।

आज अखबारमा राजाले ४५ जनालाई माफी दिए भन्ने खबर छ। उनीहरूमध्ये अधिकांश भारतमा निर्वासित जीवन बिताइरहेका थिए। हामीले उनीहरूलाई पूरै गुमाइसकेको छौँ वा छैनौं? उनीहरू फर्केपछि हामीलाई राजनीतिक सहयोग दिन सक्छन् कि सक्दैनन्? मलाई थाहा छैन? आठ वर्ष विविध कठिनाइहरूबीच निर्वासित जीवन बिताएका यिनीहरूपनि मेरो दृष्टिमा उच्च नैतिक बल भएका मानिसहरूहुन्। के हामी असङ्गठित हुँदै छौँ ?

के मैले राजाका सर्त स्वीकार गरेको भए यो विखण्डनको प्रक्रिया रोकिन सक्थ्यो? के आफ्नो अडानमा कायम रहेर मैले भविष्यमा अझै श्रेष्ठ र सुदृढ धरातलका साथ सङ्गठित हुने सम्भावनालाई बचाएँ? मैले जे गरेको भए पनि प्रजातान्त्रिक उद्देश्यमा लामो समयसम्म टिक्न नसक्ने कार्यकर्तालाई त हामीले गुमाउने नै थियौँ। के यस्तो हो त ? के मौजुदा कार्यकर्ताले विश्वास नगुमाऊन् भनेर सोच्ने प्रमुख नेतृत्वको काम होइन ? आखिर भविष्यमा पनि मैले तिनै मानिसहरूको सहयोगबाट अघि बढ्नुपर्छ जो आजसम्म पार्टीमा कायम रहे। म उनीहरूलाई गुमाउने जोखिम उठाउन सक्दिनँ। मैले उनीहरूलाई पूर्ण नैराश्यको भान दिनु हुँदैनथ्यो। मलाई केही पनि थाहा छैन। म पूरै अन्धकारमा छु र मेरो कदम सही थियो वा थिएन? म भन्न सक्दिनँ।

तर जे गरियो, गरियो। म सारै दुःखी छु, तर यस कुरालाई रोक्न पनि सक्दिनँ। के मैले सुवर्णजीको अवस्था अस्थिर बनाइदिएँ? उहाँले व्यक्तिगत रूपमा राजाबाट माफी मागेर अझै तल ओर्लनुपर्ने हुन्छ?

मलाई भगवानमा आस्था छैन। उनीमाथि एउटा जीवित आस्था भइदिएको भए त्यो मेरो लागि आज महान नैतिक बलको स्रोत हुने थियो। जुनबेला म पूरै असहाय महसुस गरिरहेको छु। मलाई लाग्छ, जब परिणाम अनिश्चित भएका ठूलाठूला निर्णय लिइन्छ, जीवन र मृत्यु सम्बद्ध निर्णय पनि। तब यस्ता अपरिमेय निर्णय लिने मान्छेहरूले आफैँलाई उभ्याउन कुनै न कुनै भित्री नैतिक बलको आड लिनुपर्ने हुन्छ। मसँग त्यो साधन छैन। त्यसैले म असीम पीडामा छु।

गणेशमान चाहिँ यस प्रकारको पीडाबाट मुक्त हुनुहुन्छजस्तो लाग्छ। एउटा कुन कुरामा उहाँ ढुक्क हुनुहुन्छ भने हामीले राजाको सर्त स्वीकार गरेकै भए पनि उनले हामीलाई रिहा गर्ने थिएनन् र हाम्रो अवस्थामा कुनै प्रकारको सुधार हुने थिएन। बरू हाम्रो कमजोरी सतहमा आएकोले झन् बिग्रेर जाने थियो। उहाँलाई के विश्वास छ भने राजाको नियत केवल हामीहरूलाई लज्जित तुल्याउनु थियो।

यसै विश्वासले उहाँलाई ग्लानि बोध गर्नबाट बचाउँछ। म पनि उहाँसँग सहमत भएजस्तो त लाग्छ। तर पनि उहाँकोजस्तो अदम्य विश्वास म आफूभित्र निर्माण गर्नै सक्दिनँ। र, त्यही नै मेरो पीडाको कारण हो। मभित्र त्रास आकलनको यो प्रश्न बारम्बार आइरहन्छ। प्रजातान्त्रिक उद्देश्यका लागि त्रासद तथा यस उद्देश्यप्रति प्रतिबद्ध मानिसहरूका लागि व्यक्तिगत हिसाबले पनि त्रासद।

(जेल डायरी १९६२-१९६८, बीपी कोइरालाको पुस्तक अंश। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकलाई शंकर तिवारीले सम्पादन गरेका हुन्।)

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.