कालीदेवीले मनायाे ६४ औँ वार्षिकोत्सव

समारोहमा विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङलाई विशेष सम्मान गरिएको थियो ।
चौतारा-चौतारा साँगाचोकगढी नगरपालिका देउरालीस्थित कालिकादेवी माविले मंगलबार स्थापनाको ६४ औँ जन्मोत्सव मनाएको छ ।
विभिन्न प्रतियोगिता गर्दै विद्यालयले स्थापना दिवस भव्य रुपमा मनायो । वार्षिकोत्सवको सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटा सुबोधले उद्घाटन गरेका थिए ।
उक्त समारोहमा विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङलाई विशेष सम्मान गरिएको थियो । झण्डै दुई दशक तामाङले विद्यालयको नेतृत्वमा रहेर काम गरेका थिए । त्यसकै योगदान स्वरुप उनलाई विद्यालय परिवारले सम्मान गरेको हो ।
‘१९ वर्ष ६ महिनाभन्दा बढी यो स्कुललाई समय दिएको छु,’ सम्मानित भएपछि तामाङले भने, ‘यो सम्मानले समाज सेवामा अझै लाग्ने प्रेरणा दिएको छ ।’
उनलाई सांसद सापकोटाले सम्मानित गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने विद्यालयले अब्बल छात्रछात्रालाई पुरस्कृत गरेको थियो ।
कार्यक्रममा चाैतारा साँगाचाेकगढीका मेयर कृष्णप्रसाद सापकोटा, उपमेयर सीता थापा, पूर्वमेयर अमानसिं तामाङ, शिक्षा समन्वय अधिकारी कृष्णप्रसाद सुवेदीलगायतले धारणा राखेका थिए ।