असुरक्षाबीच सुरक्षा दिन बाध्य सिन्धुपाल्चाेक प्रहरी
सिन्धुपाल्चोक– सर्वसाधरणलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित बनेका छन् । जीर्ण कार्यालय, आवास, भाडाको घरमा कार्यालय र न्यून जनशक्तिका कारण समाजमा शान्तिसुरक्षा कामय राख्न खटिने प्रहरी आफैँ असुरक्षित बनेका हुन् ।
उत्तरमा सबैभन्दा ठूलो तातोपानी नाकाको चीनसँग सीमामा रहेको सीमा प्रहरी कार्यालय कोदारीको भवन जीर्ण छ । भवनको वरिपरिको भाग भासिएर चर्किएको छ । प्रहरी बस्दै आएको भवन कतिबेला भत्किने हो थाहा छैन । डरलाग्ने गरी जमिन फाटेको छ भने भवनको वाल चर्किएको छ ।
करिब ८ वर्षदेखि जीर्ण भग्नावशेष जस्तै बनेको भवनबाट प्रहरीले तातोपानी नाकाको गतिबिधि र सीमाको निगरानी गर्दै आएको छ । जीर्ण भवनमा बसेर सुरक्षा दिन मानासिकरुपमा तनाव उत्पान्न हुने प्रहरीको भनाइ छ ।
तर पनि चीन र नेपाल दुईदेश बीचको सीमा सुरक्षाका लागि जोखिमबाटै प्रहरी खटिआएको इन्सपेक्टर सञ्जिव यादव बताउँछन्। ‘तातोपानी नाका दुईतर्फी खुलेपछि प्रहरीको सक्रियाता झन बढेको छ,’ उनले भने ।

यता राष्ट्रिय गौरवको आयोजना क्षेत्रको इलाका प्रहरी कार्यालय हेलम्बु भाडाको जीर्ण भवनमा बस्न बाध्य छ । मेलम्ची खोलामा आएको बाढीले भर्खर बनेको भवन बगाएपछि स्थानीयको घरबाट सेवा दिँदै आएको प्रहरीलाई जस्ताको छानोमा पुसको चिसो छल्न कठिन भएको छ ।
तरपनि आफ्नो जीउधनको पर्वाह नगरी स्थानीयको घर भाडामा लिएर शान्तिसुरक्षा दिँदै आइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका इन्सपेक्टर मनोज कुमरा श्रेष्ठले बताए । ‘प्रहरीहरु बस्नका लागि ठाँउ नुहँदा धेरै समस्या भएको छ । हाम्रो लागि नागारिकको सुरक्षा पहिलो प्राथामिकतामा पर्छ,’ उनले भने ।
काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको सीमाक्षेत्र बन्देउ चौकीको अवस्था पनि उस्तै छ । दोलखा पुग्ने सडकदेखि समग्र शान्ति सुरक्षा हेर्ने अत्तरपुर चौकीको जग्गा नुहँदा भवन बन्न सकेको छैन ।
उस्तै समस्या सिन्धुपाल्चोकका १४ प्रहरी कार्यालयले भोग्दै आएका छन् । ६ सय ४२ दरबन्दी रहेकोमा जिल्लामा ५ सय ४८ मात्र कार्यरत छन् । यस्ता समस्याका बावजुद पनि बाढी, पहिरो, सडक दुर्घटना, आन्दोलन र ठूला कार्याक्रमा जिल्लाभरको प्रहरी खटाएर सुरक्षा दिँदै आएको प्रहरीको तितो यर्थात भएको अधिकारीहरु बताउँछन् ।
राष्ट्रको सेवामा खटिने सुरक्षाकर्मीलाई न्यूनतम् आधारभूत सुविधा उपलब्ध गराउनु पर्नेमा कसैको द्धिविधा छैन । मनोबल उच्च राख्न पनि सुरक्षाकर्मीका बासस्थान व्यवस्थित हुनुपर्ने आमधारणा छ। उत्तरको तातोपानी नाका, मेलम्ची खानेपानी र प्राकृतिक विपत्तिको केन्द्रविन्दु भनेर चिनिने सिन्धुपाल्चोकमा सुरक्षामा खटिएका प्रहरीमाथि सरकारले वेवस्ता गरेको गुनासो छ ।
प्रहरीकाे अवस्था हेर्नुहाेस्
