चौतारा र लिसंखुपाखरले दिए ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा
चौतारा–सिन्धुपाल्चोकका दुई स्थानीय तहले फागुन १ गते आफ्ना स्थानीय तहमा ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकाले जनयुद्ध’ दिवसको बिदा दिएका हुन् । दुबै स्थानीय तहले सोमबार साँझ सूचना जारी गरेर यसबारे जानकारी दिएका थिए ।
चौतारामा नगरप्रमुख स्तरीय र लिसंखुमा कार्यपालिकाको बैठकको निर्णयबाट सार्वजनिक विदा दिइएको सूचनामा जनाइएको छ ।
निर्णयअनुसार मंगलबार दुबै पालिका कार्यालय, यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, पालिका मातहतका विद्यालयहरुमा बिदा दिइएको छ ।
नेकपा माओवादीले २०५२ फागुन १ गते सशस्त्र बिद्रोहको थालनी गरेको थियो । माओवादीले हरेक वर्ष उक्त दिनमा ‘जनयुद्ध’ दिवस मनाउँदै आएको छ ।
माओवादी नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारले समेत फागुन १ गते ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदा दिएको थियो । सर्वोच्च अदालतले त्यस्तो बिदा नदिँन अन्तरिम आदेश दिएपछि सरकार निर्णयबाट पछाडि हटेको थियो ।
माओवादी र उसका जनबर्गीय संगठनहरुले भने मंगलबार फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसको रुपमा भव्यतापूर्वक मनाउँदै छन् ।
