Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. विदेशपाना
  3. साइप्रसमा अस्ताइन् सिन्धुपाल्चोककी सेतीमाया
 साइप्रसमा अस्ताइन् सिन्धुपाल्चोककी सेतीमाया
विदेशपाना समाचार समाज

साइप्रसमा अस्ताइन् सिन्धुपाल्चोककी सेतीमाया

by वरकाेबाेट संवाददाता April 18, 2024

घरेलु कामदारका रूपमा नेपालबाट साइप्रस आउने दिदीबहिनीको चाप बढ्दो छ। तिनैमध्ये एक थिइन्- सेतीमाया श्रेष्ठ।

सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया श्रेष्ठ चैत ११ गते (२०८०) आइतबार निकोसिया सहरको जनरल अस्पतालमा बितिन्।

मस्तिष्कमा पानी जमेपछि उनी अस्पताल भर्ना भएकी थिइन्।

पोस्टमार्टमपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर उनको शव नेपाल पठाइएको अवैतनिक वाणिज्य दूतावास निकोसिया कार्यालयले जानकारी दिएको छ।

०००

हुन त फरक-फरक सोचका रोजगारदाता हुन्छन्। तर नेपाली चेलीका अनुसार यहाँका प्रायः घर मालिक निष्ठुरी नै छन्।

सेतीमायालाई नजिकबाट चिन्ने व्यक्तिसँग सम्पर्क हुन सकेन। त्यसैले उनी कस्तो अवस्थामा थिइन् भन्ने निश्चित गर्न सकिएन। तर अनुमान गर्दा उनले पक्कै समयमै उपचार पाइनन्।

बिरामी पर्दा कामदार आफैँ अस्पताल जान सम्भव नहुँदा रोजगारदाताले लगिदिनुपर्ने हुन्छ। टाउको दुखेर ज्वरो आउँदा होस् वा पेट पोल्दा प्यानाडोल खान दिइन्छ वा आफैँ सिटामोल बोकेर आएका हुन्छन्।

कसैलाई त सञ्चो होला तर मस्तिष्कमा पानी जमेका वा अन्य प्राणघातक रोग लागेका व्यक्तिलाई यस्ता औषधिले कसरी ठीक पार्ला?

रोजगारदाताले नै कामदारको सोसिएल इन्सुरेन्स र मेडिकल फन्ड राज्यलाई भुक्तानी गर्ने नियम छ। फन्डकै आधारमा जस्तो जटिल रोग पनि सित्तैमा उपचार हुन्छ।

युरोपजस्तो विकसित मुलुकमा बेलैमा रोग पत्ता लागे ठीक नहुने कुरै छैन। सायद श्रेष्ठको रोग निकै गडिसकेको थियो कि?

हुन सक्छ- सामान्य रोग सोचेर हप्ता दिनमै सञ्चो हुन्छ भनेर बसिन्। किनकि जटिल रोग लागेको चाल पाएपछि रोजगारदाता उपचार गराउनुभन्दा नेपाल फिर्ता पठाउन उपयुक्त ठान्छन्।

आफ्नो देश छोड्दै गरेका जो कोही नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमारले थलिएर रित्तो हात फर्कने सोचेका हुँदैनन्। रातो बाकसमा फिर्ता हुने त झन् कल्पनै गरेका हुँदैनन्।

बरु बैंकको ऋण, छोराछोरीको सुन्दर भविष्य अनि बाआमालाई खुसी अनि सुखी राख्ने सपना बोकेर भारी मनले बिदाइका हात हल्लाउँछन्। नामै त परदेश- यहाँ सुन्दर सपना देखेजस्तो कहाँ हुन्छ र?

घरदेशको झैँ माटोको सुगन्ध आउँदैन। भाषा र संस्कार मिल्दैन। सहरका गल्ली थाहा हुँदैन। गोरुलाई जस्तै जोताएर पनि मालिक प्रसन्न हुँदैन। लाग्छ- प्वाँख भइदिए भुरुर्र उडेर आफ्नै देश फर्कनुहुन्थ्यो।

तर मथिङ्गलमा ऋण, छोराछोरी अनि बाआमाको अनुहार झलझली आउँदा भित्र कहीँ कतै च्वास्स दुख्छ। होइन, वर्तमानको दुःखले भविष्यको सुख कसरी नल्याउला? हो, जब यस्ता कुरा मनमा खेल्न थाल्छन् तब आँट भरिएर आउँछ।

जस्तोसुकै कष्ट सहेर पनि पारिश्रमिक हात पर्दा भने हृदय शीतल भएको आभास हुन्छ। बैंकको ऋण घट्दै जान्छ। छोराछोरी हुर्कंदै जान्छन्। बाआमा झन् बूढा हुन लाग्छन्। आफ्नो उमेरले पनि ४० नाघेको पत्तै हुँदैन।

तर त्यो सुखी जीवन, भोलि नै रहन्छ आज कहिल्यै आउँदैन। जीवन यसरी नै जसोतसो चलिरहेकै हुन्छ। सबभन्दा बढी ख्याल राख्नुपर्ने आफ्नो स्वास्थ्य हो। तर हामी झन् लापर्बाही गर्छौं।

शारीरिकभन्दा मानसिक पीडाले परदेशीलाई कतिबेला कुन रोगले भित्रभित्रै गलाइसकेको हुन्छ पत्तै हुँदैन।

मुख्य डर- नेपाल फकाईदिए आयस्रोत नै बन्द हुन्छ। अर्को कुरो जटिल रोग लागेको भए कसरी उपचार गर्ने? ऋण तिर्न नसके बैंकले घरबारी नै जफत गरिदिन्छ। छोराछोरीलाई शिक्षा दिन सकिन्न। आफैँ अशक्त भए बाआमाको स्याहार कसरी गर्ने!

यिनै घनचक्करमा परेर सेतीमाया श्रेष्ठले समयमै आफ्नो रोगको उपचार गर्न सकिनन् कि?

सपना देखाउने अभिभावकको लास देख्दा छोराछोरीमा के बित्दो हो! सहारा दिने मुख्य व्यक्ति कहिल्यै नफर्कनेगरी जाँदा डाँडामाथिका घामजस्ता बाआमालाई कस्तो पीडा हुँदो हो! सँगै जिउने कमस खाएका जीवनसाथी नभनीकन अस्ताउँदा उसले कसरी आफूलाई सम्हाल्दो हो?

यो समाचार पढ्नेलाई हो जस्तो मात्रै लाग्ला, तर जसलाई परेको छ, उसको त परिवार नै लथालि‌ंग भएको छ।

न खोजेको भेटिन्छ
न रोजेको पाइन्छ
न त भनेकै पुग्छ
बस् परदेशी जीवनमा नसोचेकै हुन्छ।

(साभार : नेपालखबर डटकम)

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.