ताैथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ को अवस्था गम्भीर
चाैतारा-सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिकामा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। बाँकी सबै ५२ जन्ती घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे।
प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको बताए।
मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै छ भने अन्य घाइते सामान्य उपचार गराएर फर्किएका छन्। घाइते हुनेहरूको नाम खुल्न सकेको छैन।
उनले बाटो निकै साँघुरो रहेकाे र ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए। बेहुला पनि घाइते छन् ।