मालिकादेवी कपको चौथो संस्करण कात्तिक ५ बाट
चौतारा–साढे १ लाख रुपैयाँभन्दा बढी धनराशी पुरस्कार रहेको चौथो संस्करणको मालिकादेवी कप आगामी कात्तिक ५ गतेबाट सञ्चालन हुने भएको छ ।
मेलचौर युवा जागरण समाजले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छडको अवसर पारेर बिगतमा झैँ यो वर्ष पनि खुला ७ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सातासम्म सञ्चालन हुने जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको बिजेता टोलीले १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् ।
प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक जागरण समाजले जानकारी दिएको छ ।
प्रतियोगितामा सिन्धुपाल्चोकसहित अन्य जिल्लाका टोलीले भाग लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार टीम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने छ । कात्तिक ३ गतेसम्म टीम दर्ता गर्न सकिने छ भने ४ गते खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतियोगितालाई सफल बनाउन आवश्यक तयारी सुरु गरिएको जागरण समाजका उपाध्यक्ष खिलबहादुर दङ्गालले जनाए । प्रतियोगितालाई चौतारा साँगाचोमगढी नगरपालिका, नगरका वडा नं. ७ र ८ कार्यालय, नेपाल हिल्फे बाइलिङग्रिस, जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सघाउने छन् ।