सुकुटेमा राष्ट्रिय विच भलिबल प्रतियोगिता हुने
काठमाडौँ–पर्यटकीय नगरी सुकुटेमा राष्ट्रियस्तरको विच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सिन्धुपाल्चोक भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना एवम् व्यवस्थापन र नेपाल भलिबल संघको संयोजनमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
यी तीन निकायबीच राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रतियोगिता आयोजना, व्यवस्थापन र सञ्चालन सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्वन्धि सम्झौतापत्रमा जिल्ला भलिबल संघका अध्यक्ष रमेश खड्का, पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
प्रतियोगिताका दुबै बिजेता र उपबिजेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पाउँदा तेस्रो र सान्त्वना हुने टोलीले १५ र १० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित ट्रफी र मेडल पाउने छन् ।
सम्झौताअनुसार प्रतियोगितामा सात प्रदेश तथा त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन विभागीयसहित आठ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १० टोलीबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगिताका दुबै बिजेता र उपबिजेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पाउँदा तेस्रो र सान्त्वना हुने टोलीले १५ र १० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित ट्रफी र मेडल पाउने छन् ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यो प्रतियोगिता आगामी वर्ष हुने अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगिताको छनोटको रुपमा समेत रहने जानकारी दिए ।
उनका अनुसार यस प्रतियोगिताको पुरुषतर्फ बिजेता र उपबिजेताले आगामी माघमा नेपालमा हुने पुरुष काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । यस प्रतियोगिताको लागि १० टोलीलाई बोलाइएकोमा भारत, इरान र माल्दिभ्सबाट सहभागिता रहने निश्चित भइसकेको चन्दले जानकारी दिए ।
‘सन् २०२५ मा सञ्चालन हुने सबैखाले अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगितामा सुकुटेमा च्याम्पियन हुने महिला र पुरुषका टोलीलाई थप तालिम दिएर सहभागी गराउने योजना छ,’ उनले भने ।
आयोजक तथा व्यवस्थापक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले खेल पर्यटनमार्फत सुकुटे क्षेत्रको विकास गर्ने हेतुले प्रतियोगिता आयोजना गरेको बताए । ‘यो प्रतियोगिता बर्सेनी सञ्चालन गर्ने गरी अघि बढेका छौँ,’ उनले भने ।