काठमाडौं। लगातार दोस्रो जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई जितविहीन बनाएको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई ९ रनले पराजित गर्यो। यससँगै पोखराले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ भने जनकपुरले तीन खेलबाट चार अंक जोडेको छ।



जनकपुरले यसअघि काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले तेस्रो खेलमा पोखरालाई हराउँदै पुनरागमन गरेको हो।
पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा जनकपुरसँगको हारपछि टोलीको जितको प्रतीक्षा थप लम्बिएको छ।
१४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमा समेटियो। एक समय जितको सम्भावना कायम राखेको पोखराले मध्यक्रम र अन्तिम ओभरमा अपेक्षित प्रदर्शन गर्न नसक्दा लक्ष्य भेट्टाउन सकेन।
पोखराको ब्याटिङमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा पाँच चौका प्रहार गरे। तर, छैटौं ओभरमा उनको विकेट गुमेपछि पोखराको रन बनाउने गति प्रभावित भयो।
किरण ठगुन्नाले आक्रामक ब्याटिङ गर्दै पाँच बलमा १५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। विपिन आचार्यले २० तथा विपिन खत्रीले १७ रन बनाए पनि पोखरालाई जित दिलाउन पर्याप्त भएन।
जनकपुरको जितमा मोइन अली निर्णायक बने। उनले चार ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए। उनको किफायती बलिङले पोखराको रन गति नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।
कप्तान हरमित सिंहले पनि चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए। ललितनारायण राजवंशी र जिम्मी निशमले समान एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सात विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका लागि त्रितराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
अन्तिमतिर अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै जनकपुरलाई सम्मानजनक योगफलसम्म पुर्याए। उनले १० बलमा एक चौका र दुई छक्काको मद्दतमा अविजित २४ रन बनाए।
मोइन अलीले १६ बलमा २१ रनको योगदान दिए। जनकपुरका अन्य ब्याटरले भने ठूलो स्कोर बनाउन सकेनन्।
पोखराका शाकिब अल हसनले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए। चमिका करुणारत्नेले दुई तथा महेदी हसन र मोहम्मद साइफुद्दिनले समान एक विकेट लिए।












