Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. घुमघाम / दैनिकी
  3. नाम जस्तै स्वर्ग ने–पेमासाल
 नाम जस्तै स्वर्ग ने–पेमासाल
घुमघाम / दैनिकी फोटो दृश्य वरकाेबाेट विशेष

नाम जस्तै स्वर्ग ने–पेमासाल

by ध्रुव दंगाल December 19, 2023

ने–पेमासाल अर्थात देवताहरुको स्वर्ग । राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको आधार शिविर हो ने–पेमासाल । स्थानीय भाषामा ने–पेमासालको अर्थ हुन्छ, देउताहरुको तीर्थ अथवा देवताहरुको स्वर्ग । नाम जस्तै स्वर्ग छ ने–पेमासाल पनि ।

वरिपरी घना जंगल र चारैतिर सेता हिमालबीच ने–पेमासाल उपत्यका अवस्थित छ । यो उपत्यकाको बीचबाट हिउँ पग्लेर बग्छ ने–पेमासाल खोला । यो खोला अहिले बह्मायणी नदीले चर्चित छ । ने–पेमासाल कसरी ब्रह्मायणी कहलियो यसको छुट्टै धार्मिक कहावत छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा अवस्थित ने–पेमासाल काठमाडौंबाट उत्तरतर्फ १ सय ४० किलोमिटर दुरीमा छ । समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा रहेको ने–पेमासाल प्राकृतिक रुपमा जति मनोरम छ, उत्तिकै पर्यटककीय र धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

 

 

हिन्दु र बौद्ध दुबै धर्मावलम्बीको आस्थाको पवित्र केन्द्रसमेत हो ने–पेमासाल । बौद्धधर्ममार्गी ने–पेमासाललाई गुरु पध्मसम्भवको साधनास्थल ठान्छन् । बौद्धधर्म ग्रन्थअनुसार पध्मसम्भवले आठौँ शताब्दीमा यहाँ साधना गरेका थिए । पध्मसम्भवले संसारका उत्तम १० भूमिमध्ये ने–पेमासाल पहिलो स्थानमा रहेको बताएको विभिन्न बौद्धग्रन्थमा भेटिन्छ ।

त्यसो त हिन्दु धर्मावलम्बी ने–पेमासाललाई ऋषि ब्रह्माको तपोभूमिको रुपमा व्याख्या गर्छन् । ने–पेमासालमा कठोर तपस्या गर्ने क्रममा ब्रह्माका आँखाबाट आँशुको रुपमा ब्रह्मायणी नदी उत्पत्ति भएको कथन छ । ऋषि, गुरुहरुले साधना र तपस्या गरेको स्थलको रुपमा नै ने–पेमासाललाई देवताहरुहरुको तीर्थ र स्वर्ग भनिएको हो ।

ने–पेमासाल अधिकांश समय हिउँले ढाकिन्छ । यहाँबाट रसुवाको लाङटाङ हिमाल पनि देखिन्छ । जुगल हिमशृंखलामा अनगिन्ति पिक अर्थात हिमाल छन् । तर जुगल नामले चिनिने छुट्टै हिमाल भने छैन । जुगल हिमशृंखलामा विभिन्न २६ हिमाल रहेकोमा ११ पिकले आरोहण अनुमति पाएका छन् । हिमशृंखलाका याङ्री, फूर्पाघेच्यु, ग्याल्चेन लगायत आधा दर्जनभन्दा बढी हिमाल ने–पेमासालबाट हेर्न र आरोहण गर्न सकिन्छ ।

गएको चैतमा मात्र पहिलो पटक जुगल हिमशृंखलाको सफल आरोहण भएको थियो । तीन आरोहीले हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर अग्लो ग्याल्चेन हिमाल चढेका थिए । काठमाडौंबाट तीन दिनमै सस्तो र आरामदायी यात्राद्धारा जुुगलको काख ने–पेमासाल पुग्न सकिन्छ । बस यात्राद्धारा एक दिनमै जुगल गाउँपालिकाको क्याङसिङ पुगिन्छ । अन्तिम गाउँ तेम्बाथान, दीपू हुँदै दुई दिनको पैदल यात्रापछि आइपुग्छ ने–पेमासाल ।

यात्रामा भेटिने कालिज, मृग, बँदेल, हिमचितुवा लगायत जंगली जनावरको बुर्कुसीले यात्रालाई थप रोमाञ्चक बनाउँछ । थकान महसुस हुनै पाउँदैन । घनाजंगल भएकाले ने–पेमासालसम्म पुग्दा हाइअल्टिच्यूडले छुँदैन । सगरमाथाको देश नेपालको राजधानीबाट नजिक रहेकाले जुगलको आधार शिविर ने–पेमासाललाई हिमाल आरोहणको तालिम केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।

जुगल यात्रा गर्न अरनिको राजमार्गको बलेफीबाट जलवीरे–ढाडे रुट पक्रनु पर्छ । ब्रह्मायणी नदीको चिसो पानीमा हुर्केका स्थानीय जातका माछा खाँदै यात्रा अघि बढाउन सकिन्छ । जलवीर, ढाडे, कात्तिके फाँट हुँदै गुण्डे, पाङगार्पु भएर गुम्बा पुगिन्छ । यहाँसम्म नियमित बस चल्छन् । आफ्नै सवारी साधन भए क्याङसिङ गाउँसम्म यात्रा सहज बनाउँछ । त्यसअघि भने मोटरबाटो छैन । बर्खाअगावै तेम्बाथानसम्म मोटरबाटो पु¥याउन गाउँपालिका कस्सिएको छ । यहाँ मोटरबाटो पुगेपछि ने–पेमासाल पुग्न एक दिनको बाटो छोट्टिन्छ ।

क्याङसिङ गाउँको छुर्पी, तेम्बाथानको आलु र दीपु गाउँको अर्गानिक मुला परिकार खाँदै यात्रा अघि बढाउँदा शरीरमा उर्जा प्राप्त हुन्छ । दीपूबाट अघि बढेपछि गाउँ भेटिँदैनन् । खर्क र चौरीँ गोठ भने भेटिन्छन् । सिजनमा खर्क र चौरीगोठमै खान र बास बस्न पाइन्छ । न ठाडै उकालो न आह्रालो, तेर्सो–तेर्सै पैदल हिँडेर लाङताङ र ब्रह्मायाणी नदीको संगमस्थल पुगेपछि यात्रा थप रोमाञ्चक बन्छ । झण्डै ३ हजार मिटर उचाइबाटै हिउँ भेटिन्छ । हिउँमा खेल्दै, यात्रामा भेटिने विभिन्न गुफा र ओढार हेर्दै ने–पेमासाल पुग्दा यही नै स्वर्ग हो भन्ने भान हुन्छ । शरीर हलुका हुन्छ, मन रमाउँछ, दिमाग उत्तेजित हुन्छ । ने–पेमासालबाट चौरैतिर जता हेरे पनि हिमालको भुँडीमै समातेर काउकुति लगाउन सकिन्छ जस्तो लाग्छ ।

प्रथम जुगल हिमाल आरोहणकै अवसर पारेर चैत अन्तिम साता जिल्लाका सञ्चारकर्मी पहिलो पटक ने–पेमासाल पुगेका थियौँ । मौकामा चौका हान्दै हामी जुगलको दोस्रो बेसक्याम्प बुम्बासेर्पु (४५ सय मिटर) सम्म पुग्यौँ । शृंखलाका याङ्री, फूर्पाघेच्यु लगायत हिमालको भुँडी पक्रेर काउकुती लगाउँदै मन चंगा बनाएर फर्कियौँं । यात्राका सदस्य रहेका संगीतकार चेतन सापकोटाले त ठाउँको ठाउँ गीत बनाएर सुटिङसम्म गर्न भ्याए ः सिन्धुको काखमा छ, स्वर्ग जस्तो ठाउँ

तेम्बाथानमा होमस्टे, ने–पेमासालमा क्याम्प
म पनि जाँदै छु, हेर्न त्यो सुन्दर ठाउँ
जाउँ, जाऊँ जाउँ, जाऊँ, जाउँ
जुगल हिमाल चढ्न जाउँ,
जाउँ, जाऊँ जाउँ, जाऊँ, जाउँ
जुगल हिमाल हेर्न जाउँ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.