बौरिँदै उत्तरको मुख्य तातोपानी नाका
तातोपानी-नेपाल प्रवेश गर्न लामवद्ध चिनियाँ पर्यटक । किनमेलको लागि तिब्बत छिर्न मितेरी पुलमा तैनाथ नेपाली । तिब्बती क्षेत्र खासा र रमितेबाट नेपालतिर झर्दै गरेका सामाग्रीले भरिएका कन्टेनर । व्यस्त छ, अध्यागमन कार्यालय । सुख्खा बन्दरगाह भन्सारमा उस्तै चहलपहल । सामाग्रीले भरिएको भन्सार यार्ड । सामाग्री लोड÷अनलोड गर्न खटिइरहेका मजदुर । जाँचपास लगायत प्रशासनिक काममा मस्त कर्मचारी । सामाग्री छुटाउन पुगेका व्यापारी र उनीहरुका प्रतिनिधिले खचाखच छ भन्सार परिसर पनि ।
चीनसँग व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाकामा भदौयता दैनिक देखिन थालेको दृश्य हो यो । २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्प र लगत्तै अर्को बर्ष निम्तिएको भोटेकोसी बाढीले खण्डहर बनाउँदा लामो समय मसानघाट जस्तै सुनसान, चकमन्न बनेको यो नाका बैरिन थालेको छ । व्यापारदेखि मानवीय आवागमनसम्मै सबै गतिविधि ठप्प हुँदा गुमनाम बन्न पुगेको नाका क्रमशः गुल्जार बन्दै गएको छ ।
नेपालको भगिरथ प्रयत्नपछि चीनले नाका सञ्चालनलाई खुकुलो पार्दै आयात÷निर्यात व्यापारसँगै मानवीय आवागमनसमेत खुलाएपछि कलाकार अरनिको र राजकुमारी भृकुटी पैदलै चीन प्रवेश गरेको ऐतिहासिक परम्परागत यो नाका पुरानै लयमा फर्कँन थालेको हो । ‘नाकाले भूकम्पअघिकै लय पक्रन खोजिरहेको छ,’ तातोपानी सुख्खा बन्दरगाह भन्सारका प्रमुख अधिकृत दयानन्द केसीले उत्साह भर्दै भने । बिगतमा नाकामा हुने अधिकांश व्यापारिक गतिविधि सुरु भएको उनले बताए ।
२०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि साढे चार वर्ष यो नाका पूर्ण बन्द भयो । लामो कुटनीति प्रयासपछि २०७६ जेठ १५ आयात व्यापारको लागि नाका एकतर्फी सञ्चालनमा ल्याइयो । यसअघि सीमावर्ती लिपिङ बजार मानवविहिनप्राय बन्यो । त्यसको चार वर्षपछि गत वैशाख १८ गते निर्यात व्यापारसहित नाका दोहोरो सञ्चालनमा ल्याइए पनि मानवीय आवामन खुलाइएको थिएन । दुबै व्यापार मानवीय आवागमन नहुने शर्तमा सञ्चालनमा ल्याइएको थियो ।
चीनले नाका सञ्चालनमा खुकुलो नीति लिँदै गत भदौ १५ गतेदेखि मानवीय आवागमन खुलाएपछि तातोपानीमा पुरानै व्यापारिक गतिविधि देखिन थालेको हो । ‘नाका पुरानै लयमा फर्कँन धेरै काम हुन बाँकी छ । तर त्यसको सकरात्मक संकेत भने देखा परिसकेको छ,’ प्रमुख भन्सार अधिकृत केसीले नागरिकसँग भने ।
आयात ह्वात्तै बढ्यो, निर्यात ठप्प
चार वर्षअघि नै आयात व्यापार खुलाइए पनि त्यो नाम मात्रको थियो । झण्डै एक वर्ष लामो कोरोनाकहर, दुबै मुलुकका सीमावर्ती क्षेत्रका जीर्ण सडक र कमजोर भौतिक पूर्वाधारका कारण आयात व्यापार ठप्प जस्तै थियो । मुश्किलले दैनिक चार–पाँच कन्टेनर सामाग्री मात्र चीनबाट नाका आइपुग्थ्यो ।
भदौ सुरुदेखि व्यापारिक कारोवार ह्वात्तै बढेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ । भन्सार तथ्यांकअनुसार आयात व्यापार तीन गुणा बढेको छ । प्रमुख अधिकृत केसी भदौयता निरन्तर दैनिक औसतमा १५ कन्टेनर सामाग्री आयात भइरहेका बताउँछन् । उनका अनुसार यो भनेको ३० नेपाली कन्टेर सामाग्री बराबर हो । साउनयता राजस्व मात्रै १ अर्ब ३८ करोड रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए । ‘यो भनेको गत आर्थिक वर्षको ६ महिनामा संकलन भएको भन्दाबढी राजस्य हो,’ केसीले भने । नाकाबाट आयात बढ्न थालेपछि सरकारले तातोपानी भन्सारलाई चालु वर्षमा ५ अर्व ८० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।
आयातित सामाग्रीमा ७०–८० प्रतिशत कृषिजन्य सामाग्री रहने गरेको भन्सार तथ्यांक छ । स्याउ, लसुन, अंगुर, आँप, सिमी लगायत कृषिजन्य सामाग्रीको आयात धेरै छ । पछिल्लो समय जुत्ता, चप्पल, गार्मेन्टका सामाग्री, तयारी पोशाक लगायत सामान आयात हुन थालेपछि भन्सारले यसलाई राजस्व संकलनमा सकरात्मक संकेत मानेको छ । भूकम्पअघि नाकाबाट दैनिक ६० कन्टेनर सामाग्री आयात हुन्थ्यो । २०७१ मा भन्सारले वार्षिक व्यापारिक कारोवार २२ अर्व पु¥याएर ५ अर्व रुपैयाँ राजस्व असुली गरेको थियो ।
चार महिनाअघि निर्यात खुलाइए पनि यसको कारोवार भने सुरु हुन सकेको छैन । पहिलो दिन जेठ १५ गते सात कन्टेनर नेपाली सामाग्री चीन पैठारी भएयता थप सामान गएको छैन । ‘चीनमा माग नै नभएपछि निर्यात हुन नसकेको हो,’ व्यापारीको भनाईँ उदृत गर्दै प्रमुख भन्सार अधिकृत केसीले भने । बिगतमा नेपालबाट चीनमा चाउचाउ, लसुन, प्याज, सागपात, चामल लगायत कृषिजन्य सामाग्री निर्यात हुने गरेको जनाउँदै उनले अहिले त्यस्ता सामाग्री नेपालमा आयात हुन थालेकाले माग नभएको औँल्याए ।
तिब्बतको खासा बजारमा भूकम्पपछि मान्छे बस्न दिइएको छैन । त्यसैले त्यहाँ गोदामको अभाव छ । चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले चीनका विभिन्न सहरबाट कन्टेनरमा सीमा क्षेत्र ल्याइ पु¥याउने सामान डब्बा मात्र नेपाली भन्सार पठाउने प्रक्रियाद्धारा हाल आयात भइरहेको छ । चीनले खासामा पुनः बजार बसाउने तयारी गरेकाले गोदामको व्यवस्था हुँदा आयात व्यापार निकटभविश्यमै अझै बढ्ने देखिएको भन्सार अधिकारी बताउँछन् ।
मानवीय आवागमनले बढ्दो चहलपहल
चीनले मानवीय आगामन खुलाएपछि नाकामा दैनिक चहलपहल बढ्दो छ । चिनियाँ नागरिक नाका हुँदै नेपाल प्रवेश गर्ने र नेपाली किनमेलका लागि तिब्बत प्रवेश गर्ने क्रम बाक्लिएको अध्यागमन कार्यालयको भनार्इँ छ । अध्यागमनका अनुसार दैनिक ५० जति चिनियाँ नेपाल प्रवेश गरिरहेका छन् । झण्डै ३ सय स्थानीय र जिल्लावासी किनमेलका लागि सीमावर्ती तिब्बती बजार पुग्न थालेका छन् ।
अध्यागमन कार्यालय कोदारीले जारी गर्ने पासका आधारमा स्थानीय र सीमावर्ती ३० किलोमिटर क्षेत्रका जिल्लावासी तिब्बत प्रवेश गर्ने कार्यवाहक प्रमुख दिनेश वरै बताउँछन् । ‘मानवीय आवागमले अध्यागमनको व्यस्तता पनि बढेको छ,’ उनी भन्छन् । चिनियाँ, स्थानीय, जिल्लावासी, मजदुरसमेत गरी दैनिक हजारजति जघमट नाकामा हुन थालिसकेको छ । अन्य जिल्लावासी र चीनवाहेकका नागरिकबाहेक विदेशी पर्यटकलाई भने अचmै नाकाबाट चीन प्रवेशमा रोक लगाइएको छ ।
चिनियाँ लिपिङ र रमिते बजारमा नेपालीलाई लक्षित गरेर १४ वटा पसल सञ्चालनमा ल्याइएको छ । लत्ताकपडा, ब्ल्यांकेट लगायत घरायसी र दैनिक उपभोग्य सामाग्री किन्न स्थानीय र जिल्लावासी त्यहाँ पुग्ने गरेको तातोपानीका वडाध्वक्ष कुमार श्रेष्ठले बताए । ‘नाका पुरानै लयमा फकिँन थालेको अनुभव गरिरहेका छौँ,’ खुशी हुँदै उनले भने, ‘खुशी र सम्भावना फकिँन थालेका छन् । तातोपानी गुल्जार हुने बाटोमा छ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार चिनियाँ पसलमा ६ नेपाली युवायुवतीले रोजगारी पाइसकेका छन् । भूकम्पअघि चिनियाँ पसलमा दर्जनौँ नेपालीले रोजगारी पाएका छन् । पारि (तिब्बती बजार) बाट चिनियाँ सामाग्री ल्याएर लिपिङ, कोदारी, तातोपानी लगायत स्थानमा स्थानीयले व्यापार थालेका छन् । आवामनसँगै व्यापारिक कारोबार बढ्न थालेपछि कामको अवसरको खोजीमा नाकाबाट बिस्थापित भएका व्यापारी, मजदुर थातथलो फर्कँन थालेको श्रेष्ठ सुनाउँछन् ।
नाकामा बदलिन थालेको पछिल्ला दृश्यबाट स्थानीयसँगै निजी क्षेत्रमा पनि खुशी छाएको छ । ‘नाकाको अहिलेको अवस्थाले निजी क्षेत्रमा उत्साह थपेको छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) भने । नाका पूर्ण सञ्चालनमा सरकारले अझै कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र व्यापारको लागि थप आकर्षित हुने र नाका पुरानै लयमा फर्कँने विश्वास व्यक्त गरे ।
साभार
प्रतिक्रिया