जलविद्युत आयोजना प्रभावित सीमावर्ती क्षेत्रमा सरसफाइ अभियान
तातोपानी–चीनसँगको सीमा क्षेत्रका जलविद्युत आयोजना प्रभावित बस्ती तथा बजारहरुमा सरसफाई अभियान थालिएको छ ।
सीमावर्ती भोटेकोसी गाउँपालिका–४ र ५ मा अभियान थालिएको हो । अभियानलाई इलेक्ट्रो पावर कम्पनीको सहयोग गरेको छ । स्थानीय क्लव तथा अगुवाहरुले अभियान सहभागी भएका छन् ।
इलेक्ट्रो पावर कम्पनीका अनुसार पहिलो तीन दिनमा फूल्पिङकट्टीको हिन्दी बजार सफाइ गरिएको छ । आगामी ३० गतेसम्म चाकु र खुकेण्डोल बजार सफाइ गरिनेछ ।
सीमा जोडिएका सडकका बस्तीहरुलाई सफा राख्न अभियान सुरु गरेको स्थानीय हिन्दी युवा क्लवका अध्यक्ष विकास पौडेलले जानकारी दिए । जुन बस्तीमा जुन–जुन संस्थाहरु क्रियाशील छन् तिनिहरुकै सहयोगमा अभियान अघि बढाउने जानकारी इलेक्ट्रो पावर कम्पनीले दिएको छ ।
अभियानमा जनप्रतिनिधि, आयोजनाका कर्मचारी, प्रहरी, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको छ । इलेक्ट्रो पावर कम्पनलीले भोटेकोसी गाउँपालिकामा ४० भेगावाटको भोटेकोसी आयोजना– १ निर्माण गरिरहेको छ ।
आयोजना प्रमुख इन्जिनियर उमेश पराजुलीका अनुसार नियमित रुपमा संकलन भएको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले तय गरेको डम्पिङ साइट प्रयोग गरिनेछ । त्यसका लागि आयोजनाले दुई वटा सवारी साधन साप्ताहिक रुपमा उपलब्ध गराएको छ । सीमा क्षेत्रको भोटेकोसी नदीमा दुई वटा आयोजना निर्माण भइरहेको छ । भोटेकोसी जलविद्यत आयोजनाले अढाई दशकदेखि ४५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।