जन्ती बस दुर्घटनाका तीन मृतकको सनाखत (अपडेट)
चौतारा–सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका तीनको सनाखत भएको छ ।
उक्त बस दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ दोलखाका १७ वर्षीय शिव श्रेष्ठ, सोही ठाउँ बस्ने ७० वर्षीय मानबहादुर थामी र दीपेन्द्र थामीकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
डिएसपी निरञ्जन भट्टराईका अनुसार जन्तीहरु स्वस्थानी तामाङ, प्रकाश तामाङ, ज्ञानबहादुर तामाङ, दलबहादुर तामाङ, सिँहबहादुर लामा, इश्वर थामी, लक्ष्मण थामी लगायत घाइते भएका हुन् । घाइते अधिकांशको टाउको, ढाड र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बेहुला र बसका चालक पनि घाइते छन् ।
दोलखाको भीमेश्वर नगरपालिका–१ बाट सिन्धुपाल्चोकको पिस्कर आउँदै गरेको बा४ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे सात बजेतिर त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको थियो ।
प्र्रहरीका अनुसार बसमा ५५ जना सवार रहेका थिए । बेहुलासहित बाँकी सबै ५२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ को अवस्था सामान्यभन्दा केही जटिल छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । सामान्य अवस्थाका बाँकी ४५ घाइतेको त्रिपुराकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
रोल्वालिङ यातायातको जन्ती बोकेको उक्तबस कच्ची र साँघुरो सडकबाट सय मिटर तल खसेको डिएसपी भट्टराईले जनाए । घटनास्थल बाह्रविसे बजारबाट २५ किलोमिटर दक्षिणतर्फ पर्छ । उक्तबस बिहान साढे ३ बजे दोलखाबाट पिस्करको लागि हिँडेको थियो ।