हेल्लो मेयर, उपमेयर कार्यक्रम : तीन घण्टा बालबालिकासँग सवालजवाफ
झण्डै तीन घण्टा चलेको कार्यक्रममा प्रमुख तामाङ र उपप्रमुख प्रधानले धैर्यता साथ बालबालिकाका कुरा सुने र आबश्यक जवाफ दिए । यस्ता कार्यक्रमले बालबालिकाले पनि नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमका विषयमा जानकारी पाउने र उनीहरुलाई जागरुक बनाउने विश्वास नगरप्रमुख तामाङले व्यक्त गरे ।
मेलम्ची-‘हामी मेलम्चीको कर्णालीका मान्छे । समयमा सूचना नपाउँदा नगरपालिकाबाट पाउने सेवा लिनबाट हामी बञ्चित हुने गरेका छौं’, ९ कक्षामा अध्ययनरत छात्रा संगिता तामाङले सबैका सामुन्ने गुनासो गरिन् । उनले सूचनाको शक्तिबारे बोल्दा उपस्थित सबै चकित परे ।
मेलम्ची नगरपालिकाले गरेको बालबालिकासँग हेल्लो मेयर उपमेयर कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख र उपप्रमुख भेट्न वडा नं. ४ ठूलोथकनीबाट आएकी उनले समयमा सूचना नहुँदा नगरको दुरदराजका बालबालिका अवसर पाउनबाट बञ्चित हुनुपरेको गुनासो गरेकी हुन् । उनले गुनासो गर्नासाथ नगरप्रमुख आइतमान तामाङले यो विषयमा गम्भिर हुन सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘सूचना नपाएकै कारण कुनै पनि नागरिकले सेवा पाउनबाट बञ्चित हुनु हुन्न ।’
कालिका मावि थाक्लेकी छात्रा श्रेषा तामाङले तामाङ बाहुल्य विद्यालयहरुमा तामाङ भाषा पढाउन आबश्यक रहेको जिज्ञासा राख्नासाथ प्रमुख तामाङले आबश्यक ठाउँमा तामाङ भाषा पढाउन छिटोभन्दा छिटो सुरु गर्ने जवाफ दिएका थिए ।
कार्यक्रममा जनजागृति माविकी छात्रा शर्मिला तामाङले अँग्रेजी भाषाको मोहमा परेर नेपाली भाषा ओझेलमा पर्न लागेको गुनासो गरेपछि उपप्रमुख उमा प्रधानले नेपाली विद्यार्थी पनि विश्वमा बिक्न सकुन् भन्ने उद्देश्यले अँग्रेजी माध्यम सुरु गरेको भए पनि नेपाली भाषा र नेपाली पनलाई ओझेलमा पर्न नदिने बताइन् ।
जलवाइदेवी माविकी छात्रा गरिमा भारतीले घेराबार बनाउन बजेट राख्छु भन्नुभएको थियो के भइराखेको छ भनि मेयरलाई प्रश्न गरिन् । जवाफमा प्रमुख तामाङले १० लाख रुपैया बजेट विनियोजन भएको जानकारी गराए ।
कालिकादेवी माविका छात्र मनोज तामाङले भौतिक विकास मात्र विकास हो र ? बालबालिकाको क्षेत्रमा के भइराखेको छ भनि प्रश्न राखेका थिए । जवाफमा उपप्रमुख प्रधानले बालबालिकाको लागि १ करोड ४८ लाख बजेट विनियोजन भएको जानकारी दिएकी थिइन् ।
राजनीतिक दल, निर्वाचनका प्रतिस्पर्धी, संघ संस्थाका प्रतिनिधि र उमेर पुगेका नागरिकसँग मात्र छलफल र भेटघाट हुने परम्परालाई तोड्दै मेलम्ची नगरपालिकाले यस पटक बालबालिकाले नगरपालिकालाई हेर्ने दृष्टिकोण र उनीहरुका जिज्ञासा सुन्ने उद्देश्यले हेलो मेयर उपमेयर कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका सबै वडाबाट सहभागि भएका बालबालिकाले प्रत्यक्ष रुपमा स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग संवाद गर्ने अवसर पाएका थिए । झण्डै तीन घण्टा चलेको कार्यक्रममा प्रमुख तामाङ र उपप्रमुख प्रधानले धैर्यता साथ बालबालिकाका कुरा सुने र आबश्यक जवाफ दिए । यस्ता कार्यक्रमले बालबालिकाले पनि नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमका विषयमा जानकारी पाउने र उनीहरुलाई जागरुक बनाउने विश्वास नगरप्रमुख तामाङले व्यक्त गरे ।

