ज्ञानमन्दिको ४८ औँ वार्षिकोत्सव : यस्तो होस् सामुदायिक विद्यालयको कार्यक्रम (फोटो फिचर)
चाैतारा–सामुदायिक विद्यालय राजनीतिको थलो बनेको गुनासो सबैतिर व्याप्त छ । विद्यालय व्यवस्थापन समिति गठनदेखि औपचारिक कार्यक्रमको प्रमुख अतिथि बनाउनेसम्म राजनीतिकै दाउपेच चल्छ । सामुदायिक विद्यालयहरुमा स्थापित भास्य यही हो ।
सरकारी विद्यालयको यस बिडम्बनालाई चिर्ने प्रयास गरेको छ, चौताराको मेलचौरस्थित ज्ञानमन्दिर नमुना माविले ।
‘हामी नयाँ ढंगले कार्यक्रम अघि बढाउँदै छौँ । परम्परालाई बदल्दै छौँ,’ सञ्चालक शिक्षक यज्ञप्रसाद दंगालले साँझ ५ बजेसम्मको कार्यक्रम तालिका सुरुमै प्रस्तुत गर्दै भने, ‘विद्यार्थीहरुका ४५ वटा प्रस्तुति यहाँ देखाउनु छ ।’
नभन्दै भटाभट विद्यार्थीका कार्यक्रम आए । बालबालिकाले नाचगान गर्दै आफ्नो प्रतिभा देखाए । बरु कतै नदेखिएको भूतपूर्व विद्यार्थीको अभूतपूर्व भूमिका देखियो । विद्यालयको आधा भूमिका ओगट्दै सहयोग, अक्षयकोषमार्फत यो संस्था देखियो ।
२०५८, २०५९ का एसएलसी वर्षेहरु उस्तै गरी विद्यालयलाई सघाउन अघि सरे । ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ?’ भन्दै पूर्व विद्यार्थीका एउटा वर्षे संयोजक सन्तोष दंगालले विद्यालयको मञ्च प्रयोग गर्दै सहयोग पेटिकाको अवधारणा प्रस्तुत गरे ।
विद्यार्थी, शिक्षक, अभिभावक र शुभचिन्तकको जन्म दिवस लगायत उत्सवमा फजूल खर्च कटौती गरेर एक, दुई, पाँच, १० र सय रुपैयाँले त्यो बाकसमा संकलन हुने सहयोग विद्यालयकै उन्नतिमा खर्च हुने उनले बताए ।
उनको उद्घोषसँगै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटासहित अतिथि, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी लगायतले स्वेच्छिक आर्थिक सहयोग दान गरे ।
कार्यक्रमभरि विद्यार्थी, शिक्षिकाऽ बरु भूतपूर्व विद्यार्थीको रौनक र उत्साह मात्र देखियो । पूूर्वविद्यार्थीहरु टोलीसहित आएर नाचे अनि आफू पढेको विद्यालयको वार्षिकोत्सव भव्य बनाउन मद्दत गरे । स्थानीय शिक्षाविद्हरुले विद्यालयको मञ्चबाट अनुभव साटे ।
‘सामुदायिक विद्यालयको कार्यक्रम यस्तो पो हुनपर्छ,’ भूतपूर्व विद्यार्थीको कार्यक्रम भइरहँदा कार्यक्रमस्थल प्रवेश गरेका वरिष्ठ सञ्चारकर्मी निर्मल अर्यालले भने । साहित्यकारसमेत रहेका उनी विद्यालय तहमा पढाइ हुने हाँस्य निवन्धकार भैरव अर्यालका भतिज हुन् ।
हो, ज्ञान मन्दिर नमुमा माविले स्थापनाको ४८ औँ वार्षिकोत्सव यस्तै रचनात्मककार्यक्रमसहित भव्य रुपले मनाएको छ । एक एसएलसी समकक्षीहरुले त ज्ञानको मन्दिरमा विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गर्न सहपाठीहरुबाट संकलित डेढ लाख रुपैयाँ दिइसकेका छन् । यसको उद्घोष विद्यालयले गरेको थियो । अब निर्माण हुने उक्त मन्दिरको शिलान्याससमेत यसै यवसरमा गरियो ।
‘मन्दिर निर्माणमा खर्च अलि बढी लाग्ने देखियो । अब सबैसँग सहयोग आह्वान गर्छौँ,’ उक्त समकक्षीहरुका नेता सुरज दंगालले भने ।
विद्यालय स्थापनाको वर्षगाँठलाई पर्वकै रुपमा मनाउने क्रममा विद्यालयले सातादेखि विद्यार्थी केन्द्रीत विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेको थियो । वार्षिकोत्सव मूल समारोहको शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरे ।
विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर मूल समारोहलाई भव्य बनाए । उनीहरुले शैक्षिक प्रर्दशनीसमेत गरेका थिए । सो अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षक लगायत विशिष्ट योगदान पु¥याउने सहयोगीहरुलाई सम्मान गरेको थियो ।
विद्यालयले सो अवसरमा तहगत उत्कृष्ट विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कृत गरेको थियो । समारोहमा अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको थियो । विद्यालयले वार्षिकोत्सवसँगै २८ औँ अभिभावक भेलासमेत सँगै मनाएको थियो ।
शिक्षाप्रति अनुदार पञ्चायत शासन चरम बन्दै गइरहेका बेला स्थानीयको अगुवाइमा २०३२ मा विद्यालय स्थापना भएको थियो । ज्ञानमन्दिर प्राविबाट सञ्चालित विद्यालय २०३६ मा जिल्लाकै उत्कृष्ट घोषित भएपछि ज्ञानमन्दिर नमुना नामाकरण गरिएको थियो ।
२०४६ मा निमावि तथा २०५० मा मावि तहको पठनपाठन हुन थालेको विद्यालयले २०६४ बाट कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पुष्यप्रसाद गजुरेलले जानकारी दिए । ‘कक्षा ८ सम्म पूर्णरुपमा अंग्रेजी तथा ९ र १० मा अंग्रेजी, नेपाली दुबै माध्ययममा पठनपाठन गराउँदै आएका छौँ,’ उनले भने ।
व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगाल विद्यालयलाई विद्यालयकै हैसियतमा बचाउने अभियानमा आफू रहेको बताउँछन् । ‘यही ध्येयकासाथ हामी अघि बढेका छौँ,’ उनले भने ।
यस अवसरमा नगर प्रमुख सापकोटाले विद्यालयको वेभसाइट नमस्कार ज्ञानमन्दिरकोसमेत शुभारम्भ गरे । यो वेभपेजमा विद्यालयको विस्तृत विवरण र गतिविधि हेर्न सकिने बताइएको छ ।

सबै तस्बिरहरु : प्रभात श्रेष्ठ