सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशन चैतमा
चौतारा–सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २७ औं बार्षिक साधारण सभा तथा ९ औँ जिल्ला अधिबेशन आगामी चैतमा हुने भएको छ ।
संघको शुक्रबार सदरमुकाम चौतारामा बसेको कार्यसमिति बैठकले चैत ९ र १० गते साधरण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन मुख्य कार्यालय बाह्रबिसेमा गर्ने गरी मिति तोकिएको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले बताए । उक्त अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघि संघको चौतारास्थित शाखा कार्यालयमा संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, प्रमुख मालपोत अधिकृत खेमराज उपाधाय, प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनालाई स्वागत गरिएकाे थियाे ।
संघका अध्यक्ष बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष बेदबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष कमलकुमार श्रेष्ठ, संघका महासचिव शम्भु तिमिल्सिनालगायतले नयाँ जिम्मेवारीमा आएका प्रशासकलाई मायाको चिनोसहित स्वागत गरे ।
उक्त अवसरमा संघले सरोकारवाला निकायबीच समसामयिक विषयमा छलफल गर्दै करदाता शिक्षा कार्यक्रमसमेत गरेको थियो ।