लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण फागुनमा

खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्
चौतारा– लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।
दौडमार्फत ऐतिहासिक युद्धकिल्ला दुगुनागढीको संरक्षण एवम् प्रचार गर्ने उद्देश्यले इन्द्रध्वज गणको आयोजना र भोटेकोसी गाउँपालिकाको प्रायोजनमा यस वर्षको माउन्टेन ट्रेलरेस प्रतियोगिता फागनु १२ गते सञ्चालन हुने तालिका सार्वजनिक भएको हो ।
माघ २५ गतेसम्म नाम दर्ता गर्न सकिने प्रतियोगितामा नेपाली र विदेशी धावकले भाग लिन पाउने इन्द्रध्वज गणले जानकारी दिएको छ । गणका अनुसार सैनिक केन्द्रिय पुस्तकालय, गणको चौतारा, मेलम्ची, बाह्रबिसे र झीर्पुस्थित सैनिक व्यारेकमा नाम दर्ता गर्न सकिने छ ।
खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा दौड सञ्चालन हुने गणले जनाएको छ । खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
महिला बिधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ६०, ३५ र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । जिल्लावासीतर्फ पहिलोले ३०, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पाउने आयोजकले जानकारी दिएका छन् ।
प्रतियाेगिताकाे तयारी सुरु गरिसकेकाे आयाेजक गण र प्रायाेजक भाेटेकाेसी गाउँपालिकाले जानकारी दिए ।