अलपत्र तल्लो इन्द्रावती आयोजनाको बाँकी काम सुरु
मेलम्ची- नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको बाँकी काम पुनः सुरु भएको छ ।
आयोजनाले काम अघि बढाउने क्रममा निर्माण गर्ने सुरुङको सोमबार मेलम्ची नगर प्रमुख आइतमान तामाङले शुभारम्भ गरे ।
सुरुङ निर्माणको शुभारम्भ गर्दै नगर प्रमुख तामाङले स्थानीय तहदेखि मुलुककै समृद्धिको लागि जलविद्युत आयोजना निर्माण अपरिहार्य भएको बताए ।
उनले आयोजनाले रोजगारी सिर्जनासँगै रोयल्टी बुझाएर देशको विकासमा योगदान गर्ने बताएका हुन् । आयोजना निर्माणका क्रममा अवरोध सिर्जना नगरी सहयोग पुर्याउन तामाङले स्थानीयलाई आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख उमा प्रधानले जलविद्युत आयोजना निर्माणले नगरको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
२०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनः निर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको हो ।
विद्युत विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूल लागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए । ४ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाई तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ ।
मेलम्ची नगरपालिकामा निर्माणाधीन आयाेजनाकाे निर्माणका लागि ज्योती विकास बैकसँग ऋण सम्झौता भएको पाण्डेले बताए ।