चौतारा नगरस्तरीय फुटबल प्रतियोगितामा १४ विद्यालय सहभागी
युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले चौतारा स्पोर्टिङ्गले गत वर्षदेखि चौतारा नगरपालिका स्तरीय यो प्रतियोगिता आयोजना गर्न थालेको हो
चौतारा-दोस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय मावि ७ए साइड फुटबल प्रतियोगितामा १४ विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।
टिम दर्ता गर्ने अन्तिम दिन मंगलबारको समय सकिएपछि सहभागी विद्यालयको संख्या टुंगो लागेको हो । प्रतिस्पर्धी विद्यालयसहितको खेल तालिका बुधबार सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।
चौतारा स्पोर्टिङ्ग क्लवको आयोजनामा बिहीबारदेखि सदरमुकाम चौताराको मिनिरंगशालामा प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिता तीन दिन शनिबारसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेता विद्यालयले उपाधिसहित नगद पुरस्कार ३० हजार रुपैयाँ जित्ने छ । उपबिजेताले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारमा ट्रफी प्रदान गरिने आयोजक चौतारा स्पोर्टिङ्गले जनाएको छ ।
नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिका सहआयोजक रहेको प्रतियोगितालाई सिन्धुपाल्चोक जिल्ला फुटबल संघले प्राविधिक सहयोग पु¥याउने छ ।
युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले चौतारा स्पोर्टिङ्गले गत वर्षदेखि चौतारा नगरपालिका स्तरीय यो प्रतियोगिता आयोजना गर्न थालेको हो । पहिलो संस्करणको प्रतियोगिता मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा भएको थियो ।
दोस्रो संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक चौतारा स्पोर्टिङ्गका राकेश रानाले जानकारी दिए ।