चौतारामा चाैथाे लायन्स कप मैत्रीपूर्ण फुटबल प्रतियागिता हुने
चौतारा — लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा चौथो संस्करणको ‘लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्ट’ जेठ ९ र १० गते चौतारा टुँडिखेलमा हुने भएको छ।
“फुटवल फर फेलाेसिप” भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगिता अन्तर्गत स्थानीयस्तरका खेलाडीहरूको सहभागिता रहनेछ।
क्लबका अध्यक्ष भगवान खड्काद्वारा हस्ताक्षरित पत्रअनुसार “वर्किङ टुगेदर” भन्ने नाराका साथ हुने यस टूर्नामेन्टका लागि टिम दर्ताको अन्तिम मिति जेठ ७ गते बेलुकी ५ बजेसम्म तोकिएको छ। खेल बिहान ६ बजेदेखि सुरु हुने बताइएको छ।
आयोजकले ३० वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीहरू मात्र टिममा सहभागी हुन सक्ने प्रावधान राखेको छ। साथै, विगत पाँच वर्षभित्र कुनै पनि राष्ट्रिय, जिल्ला वा पालिका स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरू टिममा समावेश गर्न नपाइने उल्लेख छ।
क्लबले सामाजिक कार्यमा सक्रिय रहँदै यस्तो खेलकुद कार्यक्रममार्फत आपसी भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ।