यहीबीचमा कंग्रेसले राजस्थान र छत्तीसगढमा चुनाव हार्यो। जहाँ भाजपाले जितेको छ। यससँगै कंग्रेसको हारको शृंखला अझ लम्बिएको छ। भारतमा लामो समयदेखि सत्ताधारीहरूले चुनाव हार्ने प्रवृत्ति थियो। तर, पछिल्ला वर्षहरूमा मतदाताहरूले अधिकांश मुख्यमन्त्रीलाई पुनःनिर्वाचित गराउन थालेका छन्। तर, त्यसरी पुनःनिर्वाचित हुनेहरू चाहिँ भाजपा र क्षेत्रीय पार्टीका मुख्यमन्त्री मात्र छन्।
२०१४ देखि नै कंग्रेसका कुनै पनि मुख्यमन्त्रीले दोहोर्याएर चुनाव जितेका छैनन्। गान्धी परिवारको वंशीय प्रभुत्व रहेको कंग्रेसमा मोदी र अरु थुप्रै क्षेत्रीय नेताहरूको जस्तो मेहनत गर्ने इच्छा देखिँदैन।
यो चुनावमा कंग्रेसले दक्षिणी राज्य तेलंगनाको चुनाव मात्र जित्यो। त्यहाँ पनि मोदीको बढ्दो शक्तिको संकेत देखिन्छ। २०१४ मा मात्र बनेको तेलंगना भारतको सबैभन्दा नयाँ राज्य हो। भारत राष्ट्र समिति नामक क्षेत्री पार्टीको नेतृत्वमा यो राज्यले स्वतन्त्रता प्राप्त गरेको थियो। सोही पार्टीको शासनमा यो राज्यले असाधारण प्रगति गर्यो र भारतको १५ औँ धनी राज्यबाट तेस्रो धनी राज्य बन्न पुग्यो। २०१४ मा यो राज्यका १० मध्ये नौ जिल्ला गरिबका रुपमा वर्गीकृत थिए। आज कुनै पनि जिल्ला सो वर्गीकरणमा छैनन्।
चुनावको पर्यवेक्षणका लागि म तेलंगना पुगेको थिएँ। राज्यको राजधानी तथा हाइटेक–हब हैदरावादभन्दा टाढाका गाउँहरूमा टर्की हुर्काइरहेका गाउँलेहरू मैले भेटेँ। यो महंगो जातको कुखुरा एक समय भारतको ग्रामीण भेगमा पाइँदैनथ्यो। थुप्रै घरहरू भर्खरै बनाइएका थिए। माटोको सट्टा पक्की पर्खाल र काँचका घर थिए ती। एउटा घरबाहिर एक महिला स्कुटर चालकले ल्याइदिएको नयाँ कपडा लिँदैथिइन्। उनले ग्राहकहरूले अनलाइनबाटै सामान अर्डर गर्न र फिर्ता गर्न सक्ने बताइन्। ग्रामीण क्षेत्रमा यस्तो सुविधा पाँच वर्षअघि मात्र पनि दुर्लभ थियो।
जे भए पनि तेलंगनाका जनताले परिवर्तन चाहे। र, कंग्रेसले रेवन्त रेड्डीका रुपमा एक युवा र गतिशील उम्मेदवार अघि सार्यो। मतदाताहरूले बीआरएसका मुख्यमन्त्री के चन्द्रशेखर रावका लागि सत्तामा १० वर्ष पर्याप्त भएको बताए। र, तिनले उनको कमजोरीहरू सुनाउन थाले।
तर, जब मोदीको कुरा आयो, तब उनीहरूले उनको उपलब्धिको मात्र चर्च गरे। मोदीले भारतको विश्वव्यापी हैसियत उचालेको उनीहरूको भनाइ छ। एक मतदाताले क्यानडामा सिख पृथकतावादी नेताको हत्याको कुरा समेत उल्लेख गरे। जसमा मोदी सरकारले जिम्मेवारी लिन अस्वीकार गरेको छ। यो घटना मोदीले बाह्य मुलुकमा पनि काम गराउन सक्छन् भन्ने कुराको प्रमाण भएको ती मतदाताको भनाइ छ।
अझै पनि मोदीमा कुनै कमजोरी छ भने त्यो दक्षिण भारतका पाँच राज्यमा छ। तुलनात्मक रुपमा यी सन् २००० को दशकमा उत्तरी राज्यहरूभन्दा पछि परेका थिए। तर, गएको १० वर्षमा तिनले आफ्नो हैसियत पुनर्स्थापित गरेका छन्। राष्ट्रिय आर्थिक उत्पादनमा उनीहरूको योगदान २५ प्रतिशतबाट बढेर ३० प्रतिशत पुगेको छ। जबकि उनीहरूको जनसंख्याको हिस्सा अलिकति घटेर २० प्रतिशतमा पुगेको छ।
दक्षिण भारतीय नेताहरू राष्ट्रिय आर्थिक वृद्धिलाई अघि बढाएको जस दाबी गर्छन् र भाजपाविरुद्ध आक्रोश व्यक्त गर्छन्। भाजपाले दक्षिण भारतीय राज्यहरूबाट कर उठाएर उत्तरका राज्यमा कल्याणमा खर्च गरेको आरोप उनीहरूको छ।
भारत देशभन्दा पनि ज्यादा महादेश हो। एक क्षेत्रमा जेले काम गर्छ, अर्को क्षेत्रमा त्यसले काम गर्छ भन्ने छैन। त्यो जरुरी पनि छैन। हिन्दी क्षेत्रमा मोदीलाई सत्तामा टिकाउन पर्याप्त मत छ। जहाँ मोदीको हिन्दू राष्ट्रवादी ब्रान्ड, मोदीको व्यवस्थापकीय क्षमता गतिलो छ भनेर निकै होसियारीपूर्वक तयार गरिएको छवि र शक्तिशाली पार्टी संगठनले विशाल समर्थन जुटाएको छ।
उनीविरुद्ध अन्य क्षेत्रलाई एकजुट पार्न सक्ने सबल विपक्षीबेगर मोदी तेस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढिरहेका देखिन्छन्।
(फाइनान्सियल टाइम्स/ नेपालखबर डटकमबाट)