व्यवसायीमैत्री कानुन निर्माण गर्दै छाैँ–मन्त्री चित्रकार
चौतारा-बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले व्यवसायीमैत्री कानुन निर्माण गर्ने बताएका छन् ।
नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायीमैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उनले जनाए ।
घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्लास्थित सरोकारवालासँग गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री चित्रकारले व्यवसायीका हकहितको लागि मुख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देशका नै भएको दाबी गरे ।
नेपाली बजारमा बिक्ने र टिक्ने जनशक्तिको विकास मन्त्रालय लागि परेको उल्लेख गर्दै मन्त्री चित्रकारले सोको लागि अनुकूल वतावरण सिर्जना गर्न सबैले जोड दिनुपर्ने बताए ।
उनले बजार अनुगमन ऐन २०७५ ले संस्थागत बिकास गर्न नसकेकोले नयाँ निर्देसशका जारी गर्ने तयारीमा रहेकोसमेत जानकारी दिए । उनले सिन्धुपाल्चोकको नदीहरुमा सञ्चालित क्रसर उद्योगहरुले प्राकृतिक स्वरुप बिगारेको पाइएकोले यसप्रति व्यवसायीहहरुलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्त्रर ५ का अध्यक्ष सशव श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका कार्यकारी समिति सदस्य उजारसिं तामाङ, जिल्ला घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ, उघु उद्यमी संघ सिन्धुपाल्चोकका अध्यक्ष सानुमाया गुरुङ र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कार धितालले व्यवसायिक हकहित र उद्योगको विकास, संरक्षण र प्रवर्धनमा जोड दिए ।
व्यवसायीहरु दोहोरो करको मारमा परेको, दर्ता नविकरणमा कानुनी कठिनाई झेल्नुपरेको, स्थानीय तहमा दर्ता भएका व्यवसायलाई बैंक तथा वित्तिय संस्थाले कर्जा नदिएको गुनासो उनीहरुले गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले जिल्लामा ३ हजार ६ सय ४५ उद्योग र ३ हजार १ सय ५० वटा वाणिज्यको फर्म दर्ता भएको जानकारी गराए । उनका अनुसार जिल्लामा १३ पटकमा २ सय २२ वटा उद्योग तथा वाणिज्यका व्यवसाय अनुगमन गरिएको छ ।