हिमालको काखमूनि ओखरेनी गाउँ (फाेटाेफिचर)
चौताराबाट चर्चित तथा धार्मिक पर्यटकीय क्षेत्र पाँचपोखरी जाने रुटमै पर्छ ओखरेनी । यहाँ मृग, बदेँल, कालिज लगायत जंगली जनावर दिउँसै देख्न पाइन्छ । स्थानीय जातका कुखुरा, कोदो रक्सी र लेकाली डल्ले मुलाका अचार परिकारको स्वाद सस्तोमै चाख्न सकिन्छ । राजधानीबाट यात्रुबस चढेर पाँच घण्टामै ओखरेनी आइपुग्न सकिन्छ । आफ्नै सवारी साधन हुने घुमेर एकै दिनमा फर्कँन भ्याउँछन् । हिमाल, गुँरास, सम्पदा र स्थानीय सहनसहनअवलोकन गर्न माघ–फागुनको सिजन पुग्नै पर्ने नजिकको गन्तव्य हो ओखरेनी ।
चाैतारा-यो चिटिक्क गाउँ सिन्धुपाल्चोकको लेकाली क्षेत्रको ओखरेनी बस्ती हो । पाँचपोखरी थाङपाल गाउाँलिकाको लागार्चेमा पर्ने यो गाउँ झण्डै साढे २ हजारमिटरको उचाइमा छ ।
झण्डै ४० परिवार बस्ने यो सानो गाउँमा सबैभन्दा माथि बिशाल बुद्धमूर्ति छ । पश्चिमतिर जुगल हिमशृंखला टलक्क टक्एिको छ । हिमाल र बुद्धमूर्तिले गाउँको शोभा बढाएको छ ।
राता, साना आकारका घरहरु चिटिक्क छन् । बस्तीको बीचमा छ जोडी बौद्धस्तुपा । हिमाल र स्तुपाका दुबैको रंग सेता छन् । हिमाल र स्तुपा भलाकुसारीमा व्यस्त भए झैँ लाग्छ । ती शान्तिका कुरा गरिरहेका भान हुन्छ । सेता रंग शान्तिको प्रतिक हो । बुद्धमूर्ति र बौद्ध स्तुपा हेरेरै भन्न सकिन्छ, गाउँमा बौद्धमार्गी बस्छन् । उनीहरु शान्तिप्रेमी हुन्, त्यसैले सेतो रंग मन पराउँछन् ।
टाँगिएका ध्वजापतकाले गाउँको सौन्र्दयमा अझ निखारता ल्याएको छ । बाह्रैमास सिरिरी चल्ने सिरेटोमा फहराइरहने ध्वजापतकाले आगन्तुकलाई गाउँमा स्वागत गरिहन्छन् । हिमालको काखमा बुद्धमूर्ति, बौद्धस्तुपा, फहराइरहने झण्डा बीचमा राता घरहरुले गाउँको शृंगार अझ खुलाएको छ ।
यो गाउँ विनासकारी भूकम्पले तहसनहस बनायो । घर ढाल्यो, बौद्धस्तुपा पनि भत्कायो । भूकम्प अघि पनि यो गाउँ सुन्दर थियो । तर अहिलेको जति चाहिँ होइन् । बुद्धको मूर्ति एक स्थानीयले व्यक्तिगत लगानीमा बनाएका हुन् । तर सबैले पूजापाठ गर्न पाउँछन् । घरैपिच्छे चन्दा उठाएर गाउँलले बौद्धस्तुपा पुनर्निर्माण गरे । बौद्धमार्गी समुदायमा मिलेर बस्न रुचाउँछन् । पहिले ढुंगामाटाका परम्परागत घर थिए । बदलामा बलिया घर ठडिएका छन्, त्यो पनि उस्तै आकार शैली र रंगमा ।
भूकम्पले गाउँको चमकै फेरिदियो,’ सुन्दर गाउँ नियाल्दै स्थानीय दावा लामाले भने । तत्कालीन ज्यामिरे, सिम्पालकाभ्रे, भोटेनाम्लाब गाविसको बीचमा पर्ने यो गाउँलाई सदरमुकाम चौतारा र पश्चिमी मुकाम मेलम्चीबाट सडकमा जोडिएको छ । नियमित बस चल्छन् । यहाँबाट छिमेकी जिल्ला रसुवाको लाबटाब हिमाल पनि देखिन्छ । गाउँका गुराँश फूल्न थालेको छ । गुराँश फूल्दा गाउँ दलही झैँ सिंगारिन्छ । पछिल्लो समय
आन्तरिक पर्यटकको चासोमा पर्न थालेको यो गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन् ।
दुईटा रुट प्रयोग गरी ओखरेनी पुग्न सकिन्छ । एउटा सदरमुकाम चौतारा हुँदै अर्को पश्चिमी मुकाम मेलम्ची हुँदै । जुन रुट प्रयोग गरे पनि प्राकृतिक छटामा रमाउने अवसर छ । चौताराबाट स्याउले, सानो ओखरेनी लामीडाँडा फुस्रे, गोब्र्रे हुँदै झण्डै १० किमी दुरी मोटरबाटो छिचोलेर यहाँ पुग्न सकिन्छ । बाटैभरि लोठ सल्ला, गोब्रे सल्लाका पात सुसाइ रहन्छन् । हिमाल मुस्कुराएकै हुन्छन् ।
मेलम्चीबाट ज्यामिरेको गुफाडाँडा हुँदै अघि बढ्दा ओखरेनी आइपुग्छ । गुफाडाँडा त्यो स्थान हो केही वर्षअघि देशैभरका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उपस्थितिमा राष्ट्रिय जलवायु सम्मेलन भएको थियो । यहाँबाट नब्बे डिग्रीको कोणमा हिमाल देखिन्छ । मेलम्ची–ओखरेनी १० किमी नै मोटरबाटोले जोड्छ । यो सिजन बाटोमा जमेका हिउँ खेल्दै रम्न सकिन्छ । जलवायु सम्मेलनपछि गुफाडाँडा, ओखरेनी क्षेत्र चर्चामा छन् । पछिल्लो समय आन्तरिक पर्यटकको जमघट बढ्न थालेको छ ।
चौताराबाट चर्चित तथा धार्मिक पर्यटकीय क्षेत्र पाँचपोखरी जाने रुटमै पर्छ ओखरेनी । यहाँ मृग, बदेँल, कालिज लगायत जंगली जनावर दिउँसै देख्न पाइन्छ । स्थानीय जातका कुखुरा, कोदो रक्सी र लेकाली डल्ले मुलाका अचार परिकारको स्वाद सस्तोमै चाख्न सकिन्छ । राजधानीबाट यात्रुबस चढेर पाँच घण्टामै ओखरेनी आइपुग्न सकिन्छ । आफ्नै सवारी साधन हुने घुमेर एकै दिनमा फर्कँन भ्याउँछन् । हिमाल, गुँरास, सम्पदा र स्थानीय सहनसहनअवलोकन गर्न माघ–फागुनको सिजन पुग्नै पर्ने नजिकको गन्तव्य हो ओखरेनी ।




