माघ पहिलो साता मेलम्ची पानी काठमाडौमा-खानेपानीमन्त्री यादव
मेलम्ची-खानेपानीमन्त्री महेन्द्रराय यादवले आगामी माघ पहिलो साता मेलम्ची पानी काठमाडौमा पुग्ने बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान क्षेत्रको अवलोकन गर्दै शुक्रबार मन्त्री यादवले सरकारले निर्धारण गरेको पछिल्लो समय माघको पहिलो सातामै पानी काठमाडौ पुग्ने दाबी गरेका हुन् ।
उनले द्रुत गतिमा काम भइरहेकोले समयमै पानी काठमाडौमा पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रहसमेत गरे । यादवले आयोजनाका स्थानीय उपदेकेदार, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेका जानकारी दिए ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको बताए । अम्बाथानस्थित ९, २१ र १७ नम्बर गेट सफा गर्ने काम भइरहेको उल्लेख गर्दै उनले यही गतिमा काम भइरहे तोकिएको समयमै पानी पठाउन सकिने जनाए ।
कुँवरका अनुसार दैनिक १६–१७ घण्टा ३० देखी ३५ जनाको दरले काम भइरहेको छ । आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनःउपत्यकामा पानी वितरण गरिने बताए पनि पुस लाग्दासमेत काम नै सकिएको छैन । मेलम्ची पानी नपाउँदा काठमाडौँवासीको असन्तोष चुलिँदो छ ।