मेलम्चीलाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउने योजना बनाइरहेका छौँ–प्रमुख तामाङ
सिन्धु पुरानागाउँ मावि हिरक महोत्सव
मेलम्ची–मेलम्ची नगर प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकालाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउने ढंगले योजना बनाइरहेको बताएका छन् ।
शुक्रबार मेलम्ची नगरपालिका–५ स्थित सिन्धु पुरानागाउँ माविको हिरक महोत्सवमा बोल्दै प्रमुख तामाङले शैक्षिक सुधारका लागि विद्यालयको आबश्यकता र विज्ञहरुको सुझावका आधारमा योजना बनाएको बताएका हुन् ।
नगरले कक्षा १० सम्म दिवा खाजा को व्यवस्था गर्नुका साथै शिक्षको आबश्यकता पूर्ति गर्न आन्तरिक स्रोतबाट शिक्षक नियुक्तिको व्यवस्था गरेको तामाङले जानकारी दिए । तामाङले विद्यालयले निर्माण गरेको हिरक स्तम्भको अनावरण र विद्यालयको स्मारिका अक्षर सिन्धुको विमोचन गरेका थिए ।
कार्यक्रममा उपप्रमुख उमा प्रधानले विद्यार्थीलाई कितावको किरा मात्रै नबनाएर अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताइन् । उनले बालबालिकालाई सकारात्मक सोच तर्फ उन्मुख गराउनु पर्ने बताएकी थिइन् ।
वडाअध्यक्ष राजु रायमाझीले शिक्षा क्षेत्रको विकासले वडाको समग्र विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण सुवेदी, विद्यालयका पुर्व विद्यार्थी र चन्दादाताले मन्तव्य राखेका थिए । महोत्सवको अवसरमा विद्यालयका चन्दादाता, विशिष्ट स्थानमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले विद्यालयको प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए । विद्यालयले स्थापनाकाे ७५ औँ स्थापना दिवस मनाएको हो ।
