नशाले लठ्ठिएका युवाले ब्रह्मायणीमा हेलिदिएका थिए धनमायालाई
चौतारा–सिन्धुलीस्थित सुनकोसी नदीमा मृत भेटिएकी जिल्लाको बलेफी गाउँपालिका–१ की ५७ वर्षीया धनमाया श्रेष्ठको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले साेमबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको हो ।
सैनामैना–९ बिहानी टोल, रुपन्देही जिल्ला घर भइ तल्लो बलेफी हाइड्रोपावरमा काम गर्ने ३७ वर्षीय रनबहादुर गाहाले मादक पदार्थले लठ्ठिएको सुरमा श्रेष्ठलाई ब्रह्मायणी नदीमा हेलिदिएको प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । घटनाको भोलिपल्ट सुनकोसी नदीमा तैरिरहेको अवस्थामा उनको शब भेटिएको थियो ।
‘आरोपित गाहाले श्रेष्ठलाई नदीमा घँचेडी दिएको स्वीकारेका छन् । विस्तृत अनुसन्धान भइरहेको छ,’ एसपी खड्काले भने ।
उनका अनुसार भदौ २५ गते राति मृतक श्रेष्ठ, उनका छोरा कमलदास श्रेष्ठ र आरोपित गाहा श्रेष्ठकै घरमा बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सकिएपछि गाहा फेरि लिन बाहिर गएका थिए । ‘रक्सी लिएर आउँदा मृतकका छोरा सुत्न अर्को घर गएको रहेछन् । मृतक पनि सुतिसकिछन्,’ घटनाको जानकारी दिँदै एसपी खड्काले भने, ‘अब सुत्नु पर्छ । रक्सी भोलि खाउँला, तिमी पनि सुत्न जाउ भनेर मृतकले भन्दा गाहाले आजै खाने अडान लिएछन् । सोही विषयमा विबाद सुरु भएको देखिन्छ ।’
प्रहरीका अनुसार मृतक श्रेष्ठ पनि रक्सीले मातेकी थिइन् । विबादकै बीच घर बाहिर निस्केकी श्रेष्ठलाई गाहाले लखेट्न थाल्छन् । गाहाले श्रेष्ठलाई समात्न खोज्दा श्रेष्ठको पोतेमा हात पर्छ र त्यो चुँडिन्छ । ‘मृतक श्रेष्ठ नदीको डिलमा पुगेपछि उनलाई घँचेडी दिएँ,’ गाहाले प्रहरीसँग भनेका छन् ।
भदौ २६ गते मृतककी छोरीले आमा बेपत्ता भएको भन्दै प्रहरीलाई जानकारी दिएकी थिइन् । चुँडिएको पोतेका दाना पछ्याउँदै प्रहरीले नदीलाई केन्द्रित गरेर श्रेष्ठको खोजी गरेको थियो । २६ गते सिन्धुलीमा शव भेटिएको थियो । मृतकका आफन्तले शब श्रेष्ठकै भएको पहिचान गरेका थिए ।
प्रहरीले शंकाका आधारमा २७ भदौमै गाहालाई पक्राउ गरेको थियो । ‘गाहाले मृतक श्रेष्ठलाई नदीमा घँचेडी दिएको स्वीकारेपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौँ,’ एसपी श्रेष्ठले भने । आरोपित गाहा जिल्ला प्रहरीको हिरासतमा छन् । मृतकको शब पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा पु¥याइको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया