मालिकादेवी कप : अन्डर डग सुनकोसी र धार्पाबीच उपाधि भेट

सिन्धुपाल्चोक-सुनकोसी बी र धार्पा युवा क्लबले चौथो संस्करणको मालिकादेवी कपमा उपाधि भेट पक्का गरेका छन् ।
मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार भएका सेमिफाइनलक खेल जित्दै सुनकोसी र धार्पाले उपाधि भिडन्त पक्का गरेका हुन् । यी टोलीबीच उपाधिका लागि शनिबार फाइनल खेल हुने छ ।
प्रतियोगिताको बिजेताले उपाधि मालिकादेवी कपको साथमा नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार जित्ने छ । उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ हात पार्ने छ ।
पहिलो सेमिफाइनलमा सुनकोसी बी बलियो टोली झापाको राई एफसीलाई पेनाल्टीसुट आउटमा ४–३ गोल अन्तरले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।
जहाँ सुनकोसीले आफूलाई अन्डर डग टोलीको रुपमा प्रमाणित गर्यो । विपक्षीका दुई पेनाल्टी सानदार बचाएका सुनकोसीका गोलकिपर मृगंककिरण सिंह म्यान अफ द म्याच घोषित भए।
दोस्रो सेमिफाइनलमा धार्पा पनि पेनाल्टी सुटआउटमा बाजी मार्दै उपाधि नजिक पुगेको हो । गोलकिपर सुनिल गोलेको उच्च प्रदर्शन प्रेरित धार्पाले चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ४–३ गोलको कठिन जित निकाल्यो । पेनाल्टीमा चौताराको दुई पेनाल्टी रोकेका गोले म्यान अफ द म्याच भए । यसअघि निर्धारित समयको खेल दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
म्यान अफ द म्याच बिजेता खेलाडीले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक र उच्च गोलकर्ताले आकर्षक पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् ।
मेलचौर युवा जागरण समाजले कात्तिक ५ गतेदेखि आयोजना गरेको प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन समारोह र फाइनल खेल शनिबार बिहान साढे १० बजे सुरु हुने जागरण समाजले जनाएको छ । समापन समारोहमा प्रमुख अतिथिको रुपमा पूर्वस्वास्थ्य एपम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका पूर्वभौतिक योजना तथा सामाजिक विकासमन्त्री युवाराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा लगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहने आयोजकले बताएका छन् ।