मेलम्चीले निर्माण गर्न लागेको फट्टे पुलको सार्वजनिक सुनुवाई
मेलम्ची–मेलम्ची नगर प्रमुख आइतमान तामाङले महत्वकांक्षी भएपनि फट्टे पुल निर्माणलाई नगरकै गौरवको योजनाको रुपमा अघि बढाउन लागिएको बताएका छन् ।
मेलम्ची नगरपालिका–११ फट्टेमा प्रस्ताव गरिएको फट्टे पुल आयोजनाको संक्षिप्त वातावरणीय अध्ययनको मस्यौदा प्रतिवेदन सम्बन्धमा सोमवार आयोजित सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिंदै प्रमुख तामाङले आन्तरिक स्रोतबाट निर्माण गर्न लागिएकाले स्थानीयलाई जग्गाको मुआव्जा लगायत विषयमा नअल्झन आग्रह गरे।
२०७८ सालमा आएको मेलम्ची बाढीले पुल बगाएपछि संघ र प्रदेशले चासो नदेखाएकाले स्थानीय सरकारले नै पुल निर्माणको योजना अघि सारेको तामाङले बताए । निर्धारित समयमै पुल निर्माण गरेर मेलम्ची नगरपालिका–११ र ७ मात्र नभई पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज हुने उनको विश्वास छ ।
३७ करोड १७ लाख ४९ हजार ६ सय १५ रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने पुल बनाउन करिब दुई वर्ष लाग्ने प्राविधिक अनुमान छ । बाढीको जोखिम कम गर्न पुलको माथिल्लो र तल्लो दुबै भागमा साँढे पाँच सय मिटर लामो तटवन्धको काम गर्ने प्राविधिक स्टिमेट छ ।
नगरपालिकाले बाढीको जोखिमसमेत कम हुने डिजाइनको ९० मिटर लामो र ११ मिटर चौडा स्टिल ट्रस पुलको डिपिआर तयार पारेको छ ।
३७ करोड १७ लाख ४९ हजार ६ सय १५ रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने पुल बनाउन करिब दुई वर्ष लाग्ने प्राविधिक अनुमान छ । बाढीको जोखिम कम गर्न पुलको माथिल्लो र तल्लो दुबै भागमा साँढे पाँच सय मिटर लामो तटवन्धको काम गर्ने प्राविधिक स्टिमेट छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख उमा प्रधानले पुल निर्माणले स्थानीयको दैनिक जीवन यापनमा समेत सहजता ल्याउने बताइन् । वडा नं. १० का वडा अध्यक्ष अमृत खनालले ठूलो लागत भएपनि नगरपालिकाले आँट गरेर मेलम्चीका तीन वडा र दुई अन्य गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको पुल निर्माण कार्य अघि बढाएको दाबी गरे ।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले पुल निर्माणको योजना महत्वकांक्षी भएपनि यसले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने भएकाले निर्माण कार्यमा सघाउन स्थानीयलाई आग्रह गरे ।
बाढीपछि हिउँद याममा ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको भएपनि वर्षाको तीन महिना चनौटे हुँदै घुमेर मात्र आवतजावत गर्नुपर्ने बाध्यता छ ।
