निर्मला राई बनिन् पाँचपोखरी महिला ट्रेल रेस च्याम्पियन
मेलम्ची-खोटाङकी निर्मला राई पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको च्याम्पियन बनेकी छिन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको निर्धारित २८ किलोमिटरको दूरीको दौड उनले दुई घण्टा २८ मिनेटमा पूरा गरिन्।
दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले उक्त दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।
महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताइन् ।
प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चौंथो र पाँचौं स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गरिन् ।