चौथो मालिकादेवी कप : पहिलो दिन चार टोलीको विजयी सुरुवात
सिन्धुपाल्चोक-पछिल्लो समय सिन्धुपाल्चोकमा चर्चित र लोकप्रिय बनेको फुटबल प्रतियोगिता मालिकादेवी कपको चौथो संस्करण सोमबार सुरु भएको छ ।
मेलचौर युवा जागरण समाजको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरमा सुरु भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो दिन विभिन्न चार टोलीले विजयी सुरुवात गरेका छन् ।
मेलचौरस्थित दरबारडाँडा मैदानमा भएको पहिलो खेलमा सुकुटे युवा जागरण मञ्चले भीमटार बोइजलाई ३–१ गोलले हरायो । सुकुटेको लागि आर्यनकाजी थापाले २ गोल गर्दा दिपेश बस्नेताले एक गोल थपे । भीमटारका लागि किरण माझीले सान्त्वना गोल फर्काए ।

रोमाञ्चक दोस्रो खेलमा सिंहमती युवा क्लब इन्द्रावतीले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडन डेथमा ४–३ स्तब्ध बनायो। निर्धारित समयको खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टीमा पुगेको खेल पनि ३–३ को बराबरीमा सकियो । सडन डेथमा सिहंमतिले बाजी मार्यो।
तेस्रो खेलमा साँगाचोक युथ क्लबले सिर्जनशील युवा समाजविरुद्ध ५–० को गोल वर्षा गर्दै एकपक्षीय जित निकाल्यो। साँगाचोकको जितमा सागर रामुदामुले ह्याट्रिक पूरा गरे भने आयुष तामाङले दुई गोल थपे। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने रामुदामु पहिलो खेलाडी हुन् ।
सम्बन्धित समाचार :
मालिकादेवी कप भोलिदेखि (खेल तालिकासहित)
मालिकादेवी कपको चौथो संस्करण कात्तिक ५ बाट
दिनको अन्तिम खेलमा वारियर्स एफसीले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पीपलडाँडालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पाखा लगायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुग्दा वारियर्सले बाजी मार्यो।
सुकुटेका आर्यनकाजी थापा, सिंहमतीका रोशन थापा, साँगाचोकका सागर रामदामु र वारियर्सका सुजन माझी खेलको म्यान अफ द म्याच घोषित भए। उनीहरुले नगद १ हजार रुपैयाँ पुरस्कार पाए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले खेल क्षेत्रको विकासलाई नगरले उच्च प्राथमिकतामा राखेको बताए ।
आगामी शनिबारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक जागरण समाजले जानकारी दिएको छ ।
भोलि मंगलबार विभिन्न पाँच खेल हुने छन् ।
खेल तालिका :
