दोस्रो चरणको क्षयरोगमूक्त नेपाल अभियान सुरु
चाैतारा-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको क्षयरोगमूक्त नेपाल अभियान शुक्रबार शुभारम्म गरेको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच दोस्रो चरणको अभियानको शुभारम्भ गरे ।
तत्काल क्षयरोग न्यूनिकरण गर्दै नियन्त्रणसम्म गर्ने उद्देश्यले मन्त्रालयले तीन वर्षअघि २५ स्थानीय तहबाट पहिलो चरणको अभियान सुरु गरेको थियो ।
दोस्रो चरणमा थप एक सय स्थानीय तहमा अभियान बिस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
योसमेत अभियान ६६ जिल्लाका १ सय २५ स्थानीय तहमा बिस्तार भएको छ । ‘तेस्रो र चौथो चरणमा ७७ वटै जिल्लाका सबै स्थानीय तहमा अभियान पु¥याउँछौँ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले भने ।
उनका अनुसार दोस्रो चरणको अभियानका लागि मन्त्रालयले चालु वर्ष २०८०÷८१ को लागि जिल्लास्थित स्वास्थ्य निकाय र स्थानीय तहमार्फत खर्च हुने गरी २७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘९५ प्रतिशत बजेट स्थानीय तहमार्फत खर्च हुन्छ,’ निर्देशक डा. श्रेष्ठले भने ।
तीनै तहका सरकार र समुदायको साझेदारी तथा प्रत्यक्ष संलग्नतामा क्षयरोगमूक्त अभियान सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । पहिलो चरणको अभियान अन्तर्गत गत आर्थिक वर्षमा स्थानीय तहले यो कार्यक्रममा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेका थिए । यो वर्ष स्थानीय तहले गर्ने खर्च बढ्ने मन्त्रालयको विश्वास छ ।
केन्द्रको तथ्यांकअनुसार प्रति १ लाख जनसंख्यामा २ सय २९ क्षयरोगी भेटिने गरेका छन् । एक वर्षमा ६९ हजार क्षयरोगी पत्ता लगाउनु पर्ने अवस्था रहेको छ । ‘तर प्रतिवर्ष ३७ हजार मात्र रोगी पत्ता लगाएको अवस्था छ,’ श्रेष्ठले भने ।
जनसंख्याको चाप भएका बागमती, मधेश र लुम्बिनी प्रदशेमा सबैभन्दा धेरै क्षयरोगी पहिचान भइरहेको उनले जानकारी दिए । उनका अनुसार भारतसँग सीमा जोडिएका जिल्लामा क्षयरोगीको भार बढी देखिएको छ ।
कुपोषण, धुम्रपान र मदिरा सेवन गर्ने व्यक्ति, सुगरका रोगी, तथा एचआइभी प्रभावित क्षयरोगको उच्च जोखिम बर्गमा रहेकाले अभियानले उनीहरुलाई समेत केन्द्रमा राखेर काम गरिरहेको छ ।
सन् २०३५ सम्म क्षयरोग महामारीलाई नियन्त्रण गर्ने र सन् २०५० सम्म अन्त्य गर्ने विश्वव्यापी लक्ष्यलाई नेपालले आत्मसात गरेकाले क्षयरोगमूक्त अभियान चलाएको स्वास्थ्य सेवा विभागकी महानिर्देशक संगिताकौशल मिश्र बताउँछिन् ।
सामुदायिक संलग्नतामा क्षयरोग न्यूनिकरण गर्ने प्रयास भइरहेको बताउँदै उनले यसमा लगानी गर्न स्थानीय तहलाई आग्रह गरिन् । ‘यो अभियान उच्च राजनीतिक प्रतिवद्धता प्राप्त कार्यक्रम भएकाले यसको प्रगति सिधै प्रधानमन्त्रीको कार्यालयमा रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ,’ मिश्रले भनिन् ।
दोस्रो चरणमा सिन्धुपाल्चोकको बाह्रविसे, चौतारा नगरपालिका र हेलम्बु गाउँपालिका अभियानमा समेटिएका छन् । चालु वर्षमा यी स्थानीय तहलाई क्रमश : २८, ३३ र २१ लाख रुपैयाँ बजेट छुट्याइएको केन्द्रले जानकारी दिएको छ । उसका अनुसार अभियानले परम्परागत खकार जाँचको सट्टा छातीको एक्सरे गरेर क्षयरोग पहिचान गरिरहेको छ ।
अभियान नमुना कार्यक्रम–मन्त्री बस्नेत
मन्त्री बस्नेतले सरकारका सबै अंग र समुदाय अझ बढी मिलेर क्षयरोग नियन्त्रणको क्षेत्रमा काम गर्नुपर्ने खाँचो औँल्याए । अभियानमा ग्लोबल फण्डको फण्डिङ रहेकाले यसलाई नमुना कार्यक्रमको रुपमा अघि बढाइरहेको उनले बताए ।
मन्त्री बस्नेतका अनुसार फण्डले स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्न सहयोग गरेको ८ अर्व रुपैयाँबाटै अभियान सञ्चालन भइरहेको जानकारी दिए । क्षयरोग नियन्त्रणमा स्थानीय सरकारको भूमिकाबारे उल्लेख गर्दै उनले भने, ‘घर–घरमा पहूँच स्थानीय तहको हुने भएकाले उसको परिचालन थप प्रभावकारी बन्ने देखिएको छ ।’ नेपालले क्षयरोगलाई उन्मुलन गर्न सक्ने भए पनि सहज कामसमेत अहिलेसम्म हुन नसकेकोमा दुःख व्यक्त गरे ।
प्रतिक्रिया