प्रजनन् स्वास्थ्य शिविरमा एक सय ६३ लाभान्वित
चौतारा–चौतारा साँगाचोकगढी नगरपालिका–१० जलकेनीमा बुधबार सम्पन्न महिला प्रजनन स्वास्थ्य शिविरमा १ सय ६३ लाभान्वित भएका छन् ।
जलकेनीस्थित स्वास्थ्य चौकीमा निशुल्क शिविर आयोजना गरिएको हो । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरका चिकित्सकले महिलालाई प्रजनन् सम्वन्धि सेवा दिएका थिए ।
शिविरमा चिकित्सकले प्रजनन् सम्वन्धि परामर्शसहित विभिन्न रोगको निदान, औषधी सिफारिस र औषधी वितरण गरेका थिए । शिविरमा स्थानीयसहित आसपासबाट महिला सेवा लिन पुगेको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र चौतारा साँगाचोकगढी नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन भएको हो । यस्तै शिविर बिहीबार चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिने उनले बताए ।
जलकेनीको शिविरको उद्घाटन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरवासीको स्वास्थ्यमा नगर संवेदनशील भएर कार्यक्रम अघि बढाइरहेको बताए । नागरिक स्वास्थ्य नगरको प्राथमिकतामा परेको जनाउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।