बर्खे मनसुनमा सिन्धुपाल्चोकमा २५ हजारभन्दाबढी व्यक्ति प्रभावित हुने
मेलम्ची-यो वर्षको बर्खे मनसुनमा सिन्धुपाल्चोकमा २५ हजारभन्दाबढी व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ ।
जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ल अधिकारी भूपेन्द्र थापाले यो बर्खे मनसुनमा २५ हजार ८८ जना प्रभावित हुन सक्ने अनुमान रहेको जानकारी दिए ।
’विपद्को पूर्वतयारीमा जुटिसकेका छौँ । सम्भावित जोखिम न्यून गर्न सबैले हतेमालो गर्नु पर्छ,’ बुधबार मेलम्चीमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रजिअ थापाले भने । समुदायको जागरुकतामा मात्रै बिपद्को जोखिम न्यून गर्न सकिने उनको भनाइ थियो ।
२०७८ असार १ गतेको हेलम्बु भ्रेमाथाङको बाढीले मेलम्ची तल्लो तटीय क्षेत्र प्रभावित बन्दै आएको छ ।
प्रभावित क्षेत्र मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद पूर्वतयारीको लागि बेला–बेला क्रृत्रिम घटना अभ्यास गर्दै आएको बताउँदै यसले विपद् नियन्त्रणमा धेरै सहयोग पु¥याएको जनाए । बिपद् व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने उनको सुझाव थियो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विपद्मा सबै निकाय मिलेर अघि बढ्नुपर्ने अनुभव सुनाए । ’बिपद् सबैको सरोकारको विषय रहेछ । न कि एक संस्था र व्यक्तिको,’ उनले भने । ’
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले ग्रामीण सडक गतिलो नहुँदा बिपद्मा आकस्मिक, खोज, उद्दार र अन्य महत्वपूर्ण काम प्रभावित हुँदै आएको अनुभव सुनाए ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा बाढी प्रभावित मेलम्ची नगरपालिका,, हेलम्बु र पाँचपोखरी–थाङपाल गाउँपालिकाको समन्वयमा अन्तक्र्रिया गरिएको थियो ।