रामबहादुर बम्जनसँग सरकारी वकिलको कार्यालयले थाल्यो बयान
मानव बेचविखन र व्यक्ति बेपत्ता बनाएको दुई मुद्धामा बयान जारी
चौतारा–आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनसँग जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुपाल्चोककले मानव बेचविखन र व्यक्ति बेपत्ता बनाएको दुई मुद्धामा बयान लिन सुरु गरेको छ ।
बाराका एक पुरुषलाई बेचविखन गरेको र मकवानपुरकी अर्की किशोरीलाई बेपत्ता बनाएको मुद्धामा बिहीबार बम्जनसँग बयान थालिएको हो । यी दुबैलाई बम्जनको इन्द्रावती गाउापालिकास्थित बाँडेगाउँको तोड्केभिर आश्रमबाट बेपत्ता बनाएको आरोप छ ।
यसअघि गत महिना मात्र सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्धामा दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । मानव बेचविखन र बेपत्ता सम्वन्धि दुबै मुद्दामा एक साथ बयान लिने काम भइरहेको छ । दुबै मुद्धामा बयान सक्न चार/पाँच दिन लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराई बताए ।
बयान नसक्युञ्जेल बम्जनलाई जिल्ला कारागारमा राख्ने व्यवस्था मिलाइएको छ । प्रहरीको विषेश टिमले नुवाकोटबाट उनलाई बुधबार सिन्धुपाल्चोक ल्याएको थियो । नुवाकोट प्रहरीमा बम्जनले आफ्नो आश्रमबाट त्यहाँकी एक किशोरी बेपत्ता पारेको जाहेरी परेको छ । त्यहाँको सरकारी वकिलको कार्यालयमा बयान सकाएर उनलाई यहाँ ल्याइएको हो ।
बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको तोड्केभिरमा आश्रम छ । सोही आश्रमबाट हराइरहेका पाँचमध्ये तीन अनुयायी बेपत्ता पारेको किटानी जाहेरीमा उल्लेख छ । प्रहरीले सबै मुद्धामा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया