किशाेरी बेपत्ता पारेको मुद्दामा रामबहादुर बम्जनसँग अदालतले माग्याे ३ लाख धरौटी
बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
चाैतारा-सिन्धुपाल्चाेक जिल्ला अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनसँग व्यक्ति बेपत्ता पार्ने सम्बन्धि कसुरमा तीन लाख रुपैयाँ धरौटी माग गरेको छ।
जिल्ला अदालतले बम्जनले व्यक्ति बेपत्ता पारेको भन्दै दायर भएको मुद्दामा सोमबार सुनुवाइ गर्दै तीन लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय सिन्धुपाल्चोककी प्रमुख उर्मिला दाहालले जानकारी दिइन्।
वीरबहादुर रुम्बाले आफ्नी छोरी फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले साउन १३ गते आइतबार मुद्दा दायर गरेको थियो।
न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गर्ने आदेश दिएपनि उनले तत्कालै धरौटी भने बुझाउनु पर्ने छैन।
यसअघि अर्को मुद्दामा पनि थुनामा रहेकाले बम्जन नछुट्ने र नछुट्ने भएपछि तत्कालै उनले धरौटी जम्मा गर्न नपर्ने दाहालले बताइन्।
बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका उनलाई अर्को मुद्दा अगाडी बढाउन सिन्धुपाल्चोक लगिएको थियो। अदालतको आदेशपछि उनलाई सिन्धुपाल्चोक कारागार लगिएको छ।
बम्जन गत पुस २४ गते काठमाडौँको बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए। सर्लाही अदालतको फैसलापछि उनलाई महोत्तरी कारागारमा राखिएको थियो।
सम्वन्धित समाचार
रामबहादुर बम्जनसँग सरकारी वकिलको कार्यालयले थाल्यो बयान